चितवन । पर्यटकीय नगरी चितवनको सौराहामा हात्तीलाई वनभोज खुवाइएको छ ।
१४औं अन्तर्राष्ट्रिय हात्ती दिवसको अवसरमा मंगलबार सौराहामा रहेका हात्तीलाई वनभोज खुवाइएको हो । चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत डा. गणेश पन्तले हात्तीलाई फलफुल खुवाएर वनभोजको शुभारम्भ गर्नुभयो ।
युनाइटेड हात्ती सञ्चालक सहकारी संस्था लिमिटेडले बाघमारा मध्यवर्ती सामुदायिक वनको चौरमा गरेको हात्ती वनभोज कार्यक्रममा चितवन राष्ट्रिय निकुञ्ज, राष्ट्रिय प्रकृति संरक्षण कोष तथा निजीस्तरमा पालिएका हात्तीलाई वनभोज खुवाइएको हो।
वनभोजमा सरकारी र निजी गरेर ६० वटा सहभागी रहेको संस्थाका अध्यक्ष दिपेन्द्र खतिवडाले जानकारी दिनुभयो । उहाँकाअनुसार निजी ३८, निकुञ्जका १९ र राष्ट्रिय प्रकृति संरक्षण कोषका ३ वटा हात्ती वनभोजमा सहभागी थिए।
वनभोजमा हात्तीलाई मन पर्ने परिकार सख्खर, चना, फर्सी, उखु, ड्रागनफूड, स्याउ, केरा, खरबुजाका परिकार राखिएको थियो । हरेक वर्ष अगष्ट १२ आजकै दिन हात्ती संरक्षणको उद्देश्यले यो दिवस मनाइन्छ।
प्रत्येक वर्ष विविध कार्यक्रम गरेर यो दिवस मनाउँदै आइएको छ । सौराहामा पर्यटकहरूलाई हात्ती चढाएर जङ्गल घुमाउने गरिन्छ । चितवन निकुञ्जमा अहिले छावासहित ५८ वटा हात्ती छन्।
राष्ट्रिय प्रकृति संरक्षण कोषमा ५ वटा र सौराहामा निजीस्तरमा पालिएका ४५ वटा हात्ती छन्।