सुनसरी । बंगुरमा फैलिएको अफ्रिकन स्वाइन फिवरको प्रकोपबाट यसबर्ष सुनसरीका किसानले दुई करोडको क्षति ब्योहोरेका छन ।
गत भदौ महिनादेखी फैलिएको अफ्रिकन स्वान फिबर अहिलेसम्म नियन्त्रण हुन नसक्दा थप क्षति हुनसक्ने भन्दै किसान चिन्तित छन । गत भदौमा रामधुनी नगरपालिकाका किसानले पालेको बंगुरमा देखिएको अफ्रिकन स्वाइन फिबरको प्रकोप क्रमश अन्य स्थानिय तहका फर्महरूमा फैलिएको थियो ।
रामधुनीसहित बंगुर पालनको लागि प्रसिद्ध मानिएको धरान, दुहबी र बराहक्षेत्रमा फैलिएको प्रकोपले यो वर्ष मात्र १ करोड ९७ लाख ८ हजार बराबरको क्षति भएको भेटेनिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र सुनसरीका प्रमुख डा. मनोज कुमार महतोले जानकारी दिनुभयो ।
महतोकाअनुसार सबैभन्दा बढी धरान उपमहानगरपालिकाका किसानहरूले नोक्सानी ब्योहोरेका छन । धराने कालो बंगुरको नामले प्रख्यात मानिएको धरानमा १ सय २४ वटा बयस्क, १ सय १२ वटा बच्चा र ७३ वटा माउ गरी ३ सय ९ वटा बंगुर मर्दा ६८ लाख ७५ हजार रूपैयाँ बराबरको क्षति भएको छ ।
बराहक्षेत्र नगरपालिकामा ५९ वटा बयस्क र १ सय ५० वटा माउ गरी २ सय ९ वटा बंगुर मर्दा किसानले ३७ लाख १० हजार रूपैयाँको क्षति ब्योहोरेका छन । दुहबी नगरपालिकामा १३ बयस्क, १२ बच्चा र १२ वटा माउ गरी ३७ वटा बंगुर मरेपछि किसानलाई २ लाख ४३ हजार रूपैयाँ नोक्सानी भएको छ ।
रामधुनी नगरपालिकामा ३ वटा बयस्क र १५ वटा माउ गरी १८ वटा बंगुर मरेपछि १ लाख ५० हजार बराबरको क्षति भएको भेटेनिनरी अस्पताल तथा पशुसेवा बिज्ञ केन्द्र सुनसरीले जनाएको छ ।
दुई वर्षअघि धरानमा मात्र किसानले पालेको बंगुरमा स्वाइन फिवरको प्रकोपबाट ३० करोड बराबरको क्षति ब्योहोर्नुपरेको थियो ।