रौतहट । सिँचाइका लागि आफ्नै खेतमा मोटरबाट पानी हाल्ने क्रममा करेन्ट लागेर दुई युवकको मृत्यु भएको छ । रौतहटको माधबनारायण नगरपालिका-४ बिशुनपुर्व मानपुरमा बुधबार बिहान करेन्ट लागेर एक युवकको मृत्यु भएको हो ।
स्थानीय ४० वर्षीय रामबाबु मुखिया आफ्नै खेतमा सिँचाइका लागि मोटरबाट पानी हाल्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका थिए। घाइते मुखियालाई उपचारका लागि प्रादेशिक अस्पताल गौर लगिएको थियो। तर, उपचारकै क्रममा उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय गरूडाका प्रमुख राजन कार्कीले बताउनुभयो ।
मृतकको शव हाल प्रादेशिक अस्पताल गौरमै राखिएको छ भने प्रहरीले थप अनुसन्धान अघि बढाइएको कार्कीले बताउनुभयो ।
त्यस्तै जिल्लाको कटहरिया नगरपालिका-२ जमुनियाका ४२ वर्षीया मोक्तार देवानको करेन्ट लागेर मंगलबार राति मृत्यु भएको थियो। खेतमा सिँचाइका लागि मोटरबाट पानी हाल्ने क्रममा करेन्ट लागेर देवान गम्भीर घाइते भएका थिए। उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।