
काठमाडौं । नवी मुम्बईको डीवाई पाटिल स्टेडियम भोलि साँझ नयाँ इतिहासको साक्षी बन्दै छ ।
भारत र दक्षिण अफ्रिका पहिलो पटक आईसीसी महिला विश्वकपको फाइनलमा आमने-सामने हुँदै छन् । दशकौंको संघर्ष, चुनौती र निराशालाई पार गर्दै यी दुई टोलीले आफ्नो यात्रालाई निर्णायक मोडसम्म पुर्याएका छन् । यो फाइनलले महिला विश्वकप क्रिकेटमा नयाँ च्याम्पियनसमेत दिने छ ।
नवी मुम्बईको डीवाई पाटिल स्टेडियममा आइतबार महिला विश्वकप क्रिकेटको ऐतिहासिक फाइनल हुँदैछ । जहाँ भारत र दक्षिण अफ्रिका पहिलोपटक विश्वकपको उपाधि जित्ने लक्ष्यमा हुने छन् । दक्षिण अफ्रिकाले पहिलो सेमिफाइनलमा इङ्ल्यान्डलाई १ सय २५ रनको फराकिलोअन्तरले पराजित गर्दै पहिलो पटक फाइनलमा स्थान बनाएको हो ।
दोस्रो सेमिफाइनलमा सात पटकको विश्व विजेता अस्ट्रेलियालाई पाँच विकेटले हराउँदै भारतले तेस्रो पटक महिला विश्वकप फाइनलमा स्थान बनाएको थियो । रोचक के छ भने- समूह चरणमा इंग्ल्यान्डले दक्षिण अफ्रिकालाई हराएको थियो भने अस्ट्रेलियाले भारतलाई पराजित गरेको थियो । त्यसका बाबजुद पनि दुबै टोली पहिलो विश्वकप उपाधिको नजिक पुग्न सफल भए ।
समूह चरणमा दक्षिण अफ्रिकाले ७ खेलमध्ये ५ जित र २ हारसहित १० अंक बटुलेर तेस्रो स्थान हासिल गर्यो । सहआयोजक भारतले ७ खेलमा ३ जित, ३ हार र १ बेनतिजासहित ७ अंक बटुलेर चौथो स्थानमा रहेर सेमिफाइनलमा स्थान बनाएको थियो ।भारतले आफ्नो अभियान सुरूवात सह-आयोजक श्रीलंकाविरूद्ध, वर्षा बाधक भएको खेलमा ५९ रनको जितसहित गर्यो ।
त्यसपछि पाकिस्तानलाई ८८ रनले हराउँदै लगातार दुई जित हात पारेको थियो । तर त्यसपछि भारतले लगातार तीन खेलमा हारको सामना गर्नुपर्यो । दक्षिण अफ्रिकासँग तीन विकेट, अस्ट्रेलिया र इंग्ल्यान्डसाग क्रमशः तीन विकेट र चार रनले पराजित भएको थियो । तर न्यूजिल्यान्डसँगको खेलमा स्मृति मंदाना र प्रतिका रावलको उत्कृष्ट प्रदर्शनले भारतलाई विशाल योगफलसम्म पुर्याएको थियो । वर्षा बाधक बनेको खेलमा डीएलएस प्रणालीमा ५३ रनले जित हात पारेको थियो ।
यस जितसँगै भारतले सेमिफाइनलको यात्रा सुनिश्चित गर्यो । बंगलादेशसागको समूह चरणको अन्तिम खेल वर्षाले रद्द भएको थियो । इंग्ल्यान्डसँग १० विकेटले पराजित हुँदा दक्षिण अफ्रिकाले निराशाजनक सुरूवात गरेको थियो । तर त्यसपछि टोलीले लगातार पाँच खेल जित्दै पुनरागमन गर्यो ।
न्यूजिल्यान्ड, भारत, बंगलादेश, श्रीलंका र पाकिस्तानले अफ्रिकी टोलीको चुनौती सामना गर्न सकेनन् । समूह चरणको अन्तिम खेलमा अस्ट्रेलियासाग सात विकेटले पराजित भए पनि उसले यसअघि नै अन्तिम चारमा स्थान बनाइसकेको थियो । ४५ हजारभन्दा बढी दर्शकमाझ को बन्ला त आईसीसी महिला विश्वकपको नयाँ च्याम्पियन ? के भारत घरेलु मैदानको फाइदा उठाउन सफल होला वा दक्षिण अफ्रिकाले समूह चरणकै नतिजा दोहोर्याउला ?