काठमाडौं । लागूऔषध ब्राउन सुगर कारोबार गर्दै गर्दा दुईजना एयरपोर्ट नजिकैकाे होटलबाट पक्राउ परेका छन् ।
काठमाडौं महानगरपालिका-९ एयरपोर्ट अगाडि रहेको दर्शन नमस्ते ईन होटलमा बिहिबार बिहान तराईको सिमावर्ती क्षेत्रबाट आएका व्यक्तिहरू लागू औषध ब्राउन सुगरको कारोबार गर्दै गरेको भन्ने सूचनाका आधारमा सशस्त्र प्रहरी बल नं. २० गण हेडक्वार्टर सिनामंगलको टोलिले दुई जनालाई पक्राउ गरेको हो।
पक्राउ परेका व्यक्तिहरूमा जिल्ला सिरहा सिरहा नपा-८ का ४० वर्षीय मोहमद अक्तर र जिल्ला धनुषा कमला नपा-८ का ४२ वर्षीय सामन यादव रहेका छन्।
पक्राउ परेकाहरूको साथबाट ४७.०९ ग्राम ब्राउन सुगर, १ थान तराजु, ३ थान मोबाइल, नगद रू १२ हजार १ सय ७५ र मोहमद अक्तरको नाममा रहेको १ थान राहदानी बरामद भएको छ।
उनीहरूलाई सशस्त्र प्रहरीले आवश्यक कारबाहीका लागि गौशाला प्रहरी कार्यालयमा बुझाएको छ।