बागलुङ । बागलुङमा शुक्रबार साँझ भएको जीप दुर्घटनामा परी मृत्यु हुनेको संख्या चार पुगेको छ ।
दुई जनाको उपचारको क्रममा बुर्तिवाङ अस्पतालमा र एक जनाको मणिपाल अस्पताल र एक जनाको पोखरामा उपचारको लागि लैजाँदै गर्दा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरिक्षक बसन्त पाण्डेले जानकारी दिनुभयो ।
बुर्तिवाङ बजारबाट ढोरपाटन सालझण्डी सडक खण्डहुँदै सहीखोलातर्फ जाँदै गरेको लु.प्र.०१-००१-१७७५ नम्बरको जीप ढोरपाटन नगरपालिका वडा नं. ५ बतासे डाँडामा दुर्घटना हुँदा ढोरपाटन नगरपालिका-२ का नरबहादुर कार्की, भीम कुमारी बुढा, टिका कुमारी कुँवर र मन कुमारी थापाको मृत्यु भएको प्रहरी नायव उपरीक्षक पाण्डेले जानकारी दिनुभयो ।
कार्की र बुढाको बुर्तिवाङ अस्पतालमा,थापाको मणिपाल अस्पताल पोखरामा र कुँवरलाई उपचारको लागि मणिपाल अस्पताल पोखरा लैजाँदै गर्दा बाटोमै मृत्यु भएपछि प्रहरीले जानकारी दिएको छ ।
कुंँवरको शव बाटोबाट बुर्तिवाङ नै फर्काइएको थियो । मृत्यु हुने तीन जनाको शव अहिले बुर्तिवाङ जिल्ला अस्पतालमा राखिएको छ । जीप दुर्घटनामा परी अन्य १२ जना घाइते भएका छन् ।
घाइते मध्य सात जनाको मणिपाल अस्पताल पोखरामा उपचार भइरहेको, दुई जनालाई थप उपचारको लागि रिफर गरिएको र दुई जनाको मिसन अस्पताल पाल्पामा उपचार भईरहेको प्रहरीले जानकारी दिएको छ ।
एक जना बुर्तिवाङमा उपचारपछि घर फर्किनुभएको छ । जीप सडकदेखि ६० मिटर तल खसेको थियो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक पाण्डेले बताउनुभयो ।