काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले टुँडिखेलमा सञ्चालन भइरहेको सीप मेलाको अवलोकन गरी युवालक्षित सीप सिकाइ नविनतम सोच, रोजगार र स्वरोजगारका लागि मेला उपयुक्त भएको प्रतिक्रिया दिनुभएकाे छ ।
२०८१ युवालाई तालिम दिने उद्देश्य राखेर काठमाडौँ महानगरपालिकाले जेठ ७ गतेदेखि १० वटा क्षेत्रका ३७ पेशासँग सम्बन्धित १ सय घण्टे तालिम सञ्चालन गरिरहेको छ ।
मुख्यमन्त्री लामाले, प्रशिक्षक र प्रशिक्षार्थीसँग प्रशिक्षण अभ्यासका विषयमा जानकारी लिनुभएको थियो । मेला सञ्चालनको उद्देश्य र यसका अपेक्षित नतिजाका विषयमा जानकारी लिएपछि उहाँले भन्नुभयो, ‘एउटै छानामुनि परम्परागत सीपदेखि प्रविधिसम्मका सीप सिकाउनु काठमाडौँ महानगरपालिकाको उदाहरणीय काम हो । यसले सबै खालका सम्भावनाहरूमा युवाहरूको पहुँच वृद्धि गर्छ । तालिमले रोजगारमा जाने मात्र होइन आफैँ स्वरोजगार बनेर अरूलाई रोजगार दिने आत्मविश्वास पनि दिएको पाएँ । यो अझ खुसीको कुरा हो ।’
सीपयुक्त जनशक्तिको महत्वमाथि जोड दिँदै उहाँले स्वदेशमा होस् कि विदेशमा, जहाँ पनि सीपयुक्त जनशक्तिकाे आम्दानी सामान्य व्यक्तिभन्दा दोब्बर-तेब्बर हुने बताउँदै प्रशिक्षण सकेपछि रोजगारदातासँग सिधै सम्पर्क हुने, स्वरोजगार बन्न चाहनेलाई सहयोग दिने योजनाले प्रशिक्षणको लाभलाई दिगो बनाउने धारणा राख्नुभयो ।
प्रदेश सरकारका विभिन्न मन्त्रालयहरूबाट सञ्चालित तालिमहरूलाई एकीकृत गरेर सीटीइभीटीमार्फत् एकद्वार प्रणालीमार्फत् योजना बनाएका छौँँ । यसरी तालिम प्राप्त जनशक्तिलाई प्रणालीमा आवद्ध गराएर रोजगारदाताले खोजेको बेला पाउन सक्ने बनाउन लागेको उहाँको भनाइ थियो ।
महानगरपालिकाले ‘रोजगारी र आय वृद्धि, काठमाडौंको समृद्धि’ कार्यक्रमअन्तर्गत यो मेला सञ्चालन गरेको हो । मेलाले २ हजार ९८२ जनालाई तालिम प्रदान गर्ने लक्ष्य राखेको छ, जसले शिक्षा, सीप, श्रम र उत्पादनलाई जोडेर देशको आर्थिक समृद्धिमा योगदान पुर्याउने अपेक्षा गरिएको छ ।