काठमाडौं । एक दिन हैन, दुई दिन हैन । दुई साता भैसक्यो प्रतिनिधि सभा बैठक कार्यसूचीमा प्रवेश गर्न नपाएको । भिजिट भिसा प्रकरणमा सत्ता पक्ष र विपक्षीबीच कुरा नमिल्दा आज पनि होहल्लामै करिब ५ मिनेट बिताएर संसद् बैठक टुङ्गियो ।
दुई पटक सूचना टाँसेर तेश्रो पटकमा सुरू भएको आजको बैठक विषयमा प्रवेश नै गर्न नपाइ यसरी होहल्लामै सकियो । सभामुख देवराज घिमिरेले बैठक सुरू गर्न खोज्ने विपक्षले उभिएर विरोध गर्ने र सत्ता पक्षले विपक्षीको आलोचना गर्दैमा झण्डै ५ मिनेटमा टुङ्गिएको प्रतिनिधि सभा बैठक भोलि दिउँसो २ बजेका लागि बोलाइएको छ ।
शिर्ष नेतृत्वदेखि दोश्रो तेस्रो तहसम्मका नेता दिनभर वार्ता गर्छन् । आज मिल्छ अहिले मिल्छ भन्छन् । बेलुका भने हातलाग्यो शुन्य । भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा र छानबिन आयोग गठनको माग गरेर जेठ १३ गतेदेखि विपक्षीले प्रतिनिधि सभा बैठक अवरूद्द पार्दै आएका छन ।
जेठ १५ गते बजेट ल्याउनैपर्ने संवैधानिक बाध्यताले सदन चलेकाेबाहेक यो बीचमा बोलाइएको प्रतिनिधि सभा बैठक कहिले सूचना टाँसेर र कहिले होहल्लामै सकिएको छ। जसका कारण न बजेटमाथिको छलफल सुरू हुन पाएको छ । नत विधेयकहरू अघि बढ्ने स्थिति छ । जनताका दैनन्दिन सरोकार र समस्यामा त झन् वास्तै देखिन्न ।
दिनहुँको यो दृश्य देखेर जनतामा व्यवस्था प्रति कस्तो भावना आउँदो हो नेतृत्वले कहिल्यै सोच्दैन । व्यवस्था विरोधीलाई खुच्चिङ गर्ने अवसर मिलिरहेको छ । यस बारेमा पनि कहिल्यै सोच्दैनन् ।
बजेटका बारेमा छलफल गर्नुपर्ने, बर्खा लागेर विपद सुरू भइसकेको छ यसका बारेमा छलफल गर्नुपर्ने, तर राजनीतिक नेतृत्व आ-आफ्नै अडानमा लागेर संसद्लाई बन्धक बनाएका छन । सांसदलाई मजाक बनाएका छन । दिनभर वार्ता बेलुका सुचना टाँस र नाराबाजी संसद् बन्धकको बन्धक ।