बारा-पर्सामा चैतेधान खेती विस्तार, किसानको आम्दानीमा टेवा

जेष्ठ २५, २०८२ |कान्तिपुर टीभी संवाददाता
बारा-पर्सामा चैतेधान खेती विस्तार, किसानको आम्दानीमा टेवा

वीरगञ्ज। बारा-पर्सामा चैतेधान खेती बढेको छ । यस वर्ष बारामा करिब १६ हजार हेक्टर र पर्सामा साढे ९ हजार हेक्टरमा किसानले चैतेधान लगाएका छन । चैत वैशाखमा रोपेर जेठ असारमा भित्र्याइने चैतेधानको खेती सिंचाइ सुविधा भएका ठाउँका किसानको आम्दानीको दरिलो आधार बनेको छ ।

धेरै किसानले आकासेपानी परेपछि बर्खेधान लगाउन असार कुरिरहँदा बारा-पर्सामा भने यतिबेला चैतेधान झुलिरहेको छ । कतिपय खेतमा त पाक्ने बेला भइसकेको छ । 

यस वर्ष कतिपय किसानले जेठ दोसो सातासम्म पनि चैतेधान लगाए । पछिल्ला वर्षहरूमा बारा-पर्सामा चैते धान खेती उल्लेख्यरूपले बढेको छ । कुलोपैनीसँगै बोरिङबाट सिंचाइ गर्ने सुविधा भएका किसानले चैतेधान लगाएका हुन् । झण्डै ७० हजार हेक्टर खेतियोग्य जग्गा भएको बारामा यस वर्ष १८ हजार हेक्टरमा चैतेधान लगाइएको छ ।

गत वर्ष करिब १० हजार हेक्टरमा चैतेधान लगाइएको बारामा यस वर्ष गत वर्षभन्दा क्षेत्रफल व्यापक विस्तार भएको छ । पर्सामा पनि यस वर्ष चैतेधानको खेती उल्लेख्य बढेको छ । 

५४ हजार हेक्टर खेतियोग्य जग्गा भएको पर्सामा गत वर्षसम्म करिब पाँच हजार हेक्टरमा चैतेधान लगाइएकोमा यस वर्ष ९ हजार पाँच सय हेक्टरमा चैतेधान लगाइएको छ । जिल्लास्थित कृषि ज्ञान केन्द्र र स्थानीय सरकारसमेतको प्रयासले किसानहरू चैतेधानको खेतीतर्फ आकषिर्त भएका हुन् ।

असारमा बर्खेधान लगाउँदा पनि सिाचाइ र मलको हैरानी ब्यहोर्दे आएका किसानका लागि पानी नै नपर्ने चैत-वैशाखमा चैतेधान लगाउनु निकै सकस छ । कुलो-पैनी र डिप बोरिङजस्ता सिाचाइको विकल्प नभएका किसानले चैतेधान लगाउने कल्पना नै गर्न सक्दैनन् ।

चैतेधान खेती प्रबर्द्धन गर्न सरकारले २२ जिल्लाका किसानका लागि पूर्वाधारमा लगानी गर्न ३३ करोड रूपैयाँ बजेटमै व्यवस्था गरेको छ । तर त्यो एकदमै न्यून छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.