बनेपामा तीन दिने विपद् स्वयंसेवक तालिम, ४२ जना स्वयंसेवक तयार हुँदै

जेष्ठ २५, २०८२ |पुजन धिताल
बनेपामा तीन दिने विपद् स्वयंसेवक तालिम, ४२ जना स्वयंसेवक तयार हुँदै

काभ्रे । बनेपा नगरपालिकामा तीन दिने "विपद् आधारभूत स्वयंसेवक परिचालन तथा सूचक तालिम" सुरु भएको छ। विपद् पूर्वतयारी र प्रतिकार्यमा समुदायस्तरमै दक्ष जनशक्ति तयार पार्ने उद्देश्यले सशस्त्र प्रहरी बल १५ नम्बर गणको आयोजना र नगरपालिकाको सहकार्यमा तालिम सञ्चालन गरिएको हो। 

तालिममा बनेपाका १४ वटै वडाबाट ४/४ जना स्वयंसेवक र नगर प्रहरीसहित जम्मा ४२ जना सहभागी छन्। उनीहरूलाई भूकम्प, बाढीपहिरो, आगलागी लगायतका प्राकृतिक तथा मानवसिर्जित विपद्को जोखिम न्यूनीकरण, उद्धार र राहत कार्यसम्बन्धी सैद्धान्तिक र व्यवहारिक ज्ञान दिइँदैछ।

नगर प्रमुख शान्ति रत्न शाक्यले विपद् पूर्वतयारी, सचेतना र सहकार्यमार्फत क्षति न्यूनीकरण गर्न सकिने उल्लेख गर्नु भयो । उपप्रमुख विमला सापकोटा दाहालले तालिमले युवालाई विपद्‌को सामना गर्न सक्षम बनाउन लक्षित गरिएको बताउनु भयो ।

नेपाल रेडक्रस सोसाइटी, सुरक्षा निकाय र विपद् व्यवस्थापन विज्ञहरूबाट प्रशिक्षण दिइँदैछ। तालिमपछि सहभागीहरूलाई प्रमाणपत्र दिइनेछ र स्थानीय तहमा विपद् व्यवस्थापन टोलीका रूपमा परिचालन गरिनेछ।


Image

पुजन धिताल

धिताल कान्तिपुर टेलिभिजनका काभ्रे संवाददाता हुन् ।