राजसंस्था पक्षधरकाे आन्दोलनमा गहिरिँदो मतभेद, राजावादीहरू झन् छिन्नभिन्न

जेष्ठ २५, २०८२ |कान्तिपुर टीभी संवाददाता
राजसंस्था पक्षधरकाे आन्दोलनमा गहिरिँदो मतभेद, राजावादीहरू झन् छिन्नभिन्न

काठमाडौं । राजसंस्था पुनःस्थापनाका लागि निर्णायक आन्दोलन गर्ने भनेर एक हुने प्रयासमा रहेका राजावादीहरूबीच नै आन्तरिक मतभेद र असन्तुष्टि बढेको छ । 

गत चैत १५ गते हिंसामा उत्रिएका राजावादीका शीर्ष नेताहरूलाई प्रहरीले मुद्दा लगाएपछि र सरकार कडा रूपमा प्रस्तुत हुन थालेपछि आन्दोलन यसै त तितरबितरको अवस्थामा थियो । त्यसमाथि समूहका पूराना र नयाँ पुस्ताबीचको वैचारिक मतभेदले आन्दोलन नै अनिश्चित बनेको छ ।

राजसंस्था पुनः स्थापनाको आन्दोलनका लागि नयाँ कार्यक्रम तय गर्न भन्दै गत बुधबार चावहिलस्थित एक पार्टी प्यालेसमा बोलाइएको राजावादीहरूको भेलामा होहल्ला र विवाद भयो । युवाले नेतृत्वप्रतिको आक्रोश पोखेपछि भेलाले आन्दोलनका कुनै ठोस कार्यक्रम तय गर्न सकेन र संयुक्त जनआन्दोलन परिचालन समितिका संयोजक नवराज सुवेदी भेला नै स्थगित गर्न बाध्य हुनुभयो ।

चैत १५ गतेको हिंसात्मक प्रदर्शनपछि तितरबितर र विभाजित जस्तै देखिएका राजावादीलाई पूर्वराजा ज्ञानेन्द्र शाहले बोलाएरै एकताबद्ध हुन आग्रह गर्नुभएको नेताहरूले दाबी गरेका थिए । त्यसपछि राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, राप्रपा नेपालका अध्यक्ष कमल थापालगायतका नेता नवराज सुवेदीको नेतृत्वमा आन्दोलन गर्न तयार भएका थिए । 

त्यसपछि गणतन्त्र दिवसका दिन जेठ १५ गते राजसंस्था स्थापनाका लागि काठमाडौंकेन्द्रित आन्दोलन सुरू गरेका थिए । तर अनिश्चितकालीन भनिएको त्यो आन्दोलन फितलो हुँदा नेताहरूबीच मतभेद गहिरियो । अहिले आन्दोलन नै अनिश्चित बनेको छ । तर यसलाई स्वीकार गर्न राजावादी तयार छैनन् ।

संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीले स्वीकार नगरेपनि हाल काठमाडौंमा उनीहरूका कार्यक्रममा उपस्थिति कमजोर छ ।

सुरुवाती दिनमा सडकमा राम्रै उपस्थिति जनाएका राजावादीहरूको प्रदर्शन विस्तारै कमजोर देखियो । सडकमा उत्रिएका राजावादीमाथि प्रहरीले धरपकड गरेर केही नेतालाई थुनामै राखेर मुद्दा चलायो । 

१८ जेठको प्रदर्शनमा राप्रपा नेपालका अध्यक्ष कमल थापासहितका नेता पक्राउ परे । लगत्तै आन्दोलनका संयोजक नवराज सुवेदीले १९ जेठमा उपत्यका बन्दको घोषणा गरेर विज्ञप्ति निकाल्नु भयो । तर राप्रपाले बन्दको विपक्षमा उभियो । राप्रपाको समर्थन नपाएपछि सुवेदीले कमल थापालगायत रिहा भइसकेको भन्दै उपत्यका बन्द फिर्ता लिनुभयो । यसले पनि राजावादी संस्थाहरूमा असन्तुष्टि र मतभेद बढ्दै गएको हो ।

कार्यशैलीमा फरक पन आउँदा समस्या देखिएको हो । अब राप्रपा आन्दोलन स्थगित गर्दै संगठन निर्माणमा जुट्ने मनस्थितिमा छ । यता असन्तुष्ट युवाको समूहले छुट्टै भेला गरेर कार्यक्रम घोषणा गर्ने र नेतृत्व आफैले लिने बताइसकेका छन । राप्रपालाई समेत उनीहरूले राजा चाहिने भए सांसद पद त्यागेर आदोलनमा होमिनुपर्ने भनिरहेका छन । तर राप्रपा यसका लागि तयार छैन ।

सुवेदी नेतृत्वको समिति पनि युवापुस्तालाई नेतृत्व दिन तयार छैन । यो समूहले काठमाडौं उपत्यकामा प्रदर्शन जारी राख्ने, काठमाडौंबाहिर पनि विरोध सभा, धर्ना तथा प्रदर्शन गर्ने र आन्दोलन अझ प्रभावकारी बनाउन स्थानीय तहदेखि नै संयुक्त जनआन्दोलन समिति गठन गर्ने भनिरहेको छ । तर सुवेदी भने नयाँ कार्यक्रम घोषणाको तयारीमा रहेको बताउनुहुन्छ ।

गत फागुन ७ गते प्रजातन्त्र दिवसका दिन पूर्वराजा ज्ञानेन्द्र शाहले दिएको वक्तव्यपछि हौसिएका राजावादीहरूले चैत ४ मा संयुक्त जनआन्दोलन समिति गठन गरेका थिए । तर आफूहरूसँग सल्लाह नभएको भन्दै राजेन्द्र लिङ्देन र कमल थापाहरू सुवेदी नेतृत्वको समितिमा बस्न अस्वीकार गरे । 

१५ चैतमा तीनकुनेमा भएको प्रदर्शनका लागि दुर्गा प्रसाईं जनकमान्डर तोकिएपछि त लिङ्देन र थापा लगायतका नेताहरू सहभागी नै भएनन् । पछि जेठ १५ देखि एकत्रित भएका राजावादीहरूभित्र फेरि अविश्वास मात्र बढेको छैन, छिन्नभिन्नको अवस्थामा पुगेका छन ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.