जनकपुरमा आज हर्षाेल्लास पुर्वक गंगा दशहरा पर्व मनाइँदै, गंगासागरमा साँझ विशेष गंगा आरती हुने

जेष्ठ २२, २०८२ |अनिल मिश्र
जनकपुरमा आज हर्षाेल्लास पुर्वक गंगा दशहरा पर्व मनाइँदै, गंगासागरमा साँझ विशेष गंगा आरती हुने

काठमाडौं । प्राचीन मिथिलाको राजधानी जनकपुरधाममा आज हर्षाेल्लास पुर्वक गंगा दशहरा पर्व मनाइँदै छ ।

गंगा दशहराको अवसरमा दर्शनार्थीहरूले ऐतिहासिक पवित्र सरोवर दशरथ तलाव र गंगा सागरमा स्नान गरी दशरथ मन्दिर, जानकी मन्दिर, जनक मन्दिर लगायतका मठ मन्दिरहरूमा पुजाआजा गरेका छन । 

श्रद्धालु भक्तजनहरूले आजको दिन सर्वप्रथम दशरथ मन्दिरमा पुजाआजा गरेपछि मात्र अन्य मन्दिरहरूमा दर्शन गर्ने चलन रहेको छ । गंगा दशहरा मेला भर्न नेपाल र भारतका तिर्थालुहरू वर्षेनी त्यहाँ आउने गरेका छन् । 

पुजा दर्शनपछि आँप, च्युरा, दही र सखर प्रसादको रूपमा खाने चलन रहेको छ । मर्यादा पुरूषोतम भगवान रामका पुर्वज भागिरथले आफ्नो कुलको मुक्तीका लागि कडा तपस्या गरेर गंगालाई पृथ्वीमा अवतरण गराएको स्मरणमा गंगा दशहरा पर्व मनाईने चलन रहेको छ । 

यस अवसरमा ऐतिहासिक एवं धार्मिक महत्वका जनकपुरधामको पवित्र सरोवर गंगासागरमा आज साँझ विशेष गंगा आरती समेत हुनेछ ।


Image

अनिल मिश्र

मिश्र कान्तिपुर टेलिभिजनका जनकपुर संवादताता हुन् ।