काभ्रे । काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका-५, तल्लो जिपलाइनस्थित अरनिको राजमार्ग खण्डमा बालुवा बोकेर भक्तपुरतर्फ जाँदै गरेको एक टिपरमा अचानक आगलागी भएको छ।
गएराति करिब १२:३० बजे पाँचखालबाट भक्तपुरतर्फ जाँदै गरेको बा २ क ६१२५ नम्बरको बालुवा लोड टिपरमा आगलागी भएको हो। सो टिपर दोलखा जिल्ला कालिञ्चोक गाउँपालिका-७ निवासी २७ वर्षीय नवराज सिवाकोटीले सञ्चालन गरिरहेका थिए।
प्रहरीकाअनुसार गाडीको रेस एक्कासी बढेपछि चालकले सवारी रोक्न खोजी पम्पको तार र फ्युज झिक्ने क्रममा आगलागी भएको हो। प्रारम्भिक अनुमानमा तार सर्ट भएको कारणले आगो लागेको हुनसक्ने बताइएको छ। यद्यपि, घटनाको वास्तविक कारणबारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।
आगलागीबाट मानवीय क्षति नभएपनि सवारीसाधनमा क्षति पुगेको छ। नेपाल प्रहरी, पाँचखाल नगरपालिकाको नगर प्रहरी र दमकलको संयुक्त प्रयासमा आगो नियन्त्रणमा ल्याइएको हो। राति १:३० बजे आगो पूर्ण रूपमा निभाइएको जानकारी प्राप्त भएको छ।
सुरक्षाका लागि समयमै कदम चालिएकाले ठूलो क्षति हुनबाट जोगिएको जनाइएको छ। प्रहरीले यस सम्बन्धमा थप अनुसन्धान अघि बढाइरहेको छ।