
काठमाडौं । निर्वाचन आयोगले फागुन २१ को निर्वाचनका लागि मतदाता नामावली संकलनदेखि आवश्यक सामग्री खरिद र आचारसंहिता निर्माणसम्मका सबै तयारी अन्तिम चरणमा पुगेको जनाएको छ ।
आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचनमा कुल ७९ प्रकारका सामग्री आवश्यक पर्ने सूची बनाएको जानकारी दिनुभयो । तीमध्ये १४ सामग्री मात्र खुला प्रतिष्पर्धाबाट किन्ने आयोगको तयारी रहेको र मतपत्र छपाईका लागि आवश्यक पर्ने कागज र मतपेटिका मौज्दात रहेको उहाँको भनाइ छ ।
निर्वाचनमा मतपेटिका, औँलामा चिह्न लगाउने नउड्ने मसी भएको मार्कर, पित्तलको स्वस्तिक चिन्ह छाप, स्ट्याम्प प्याड र स्ट्याम्प प्याड मसी, कागज, डटपेन, धागो, सियो, पिन, किला, स्टाप्लर, गम, लाहा, मैनबत्ती, ब्लेड, कार्बन पेपर तथा कैँचीलगायतका सामग्री आवश्यक पर्ने आयोगले जनाएको छ ।
यस्तै निर्वाचनसम्बन्धी ऐन, नियम, निर्देशिका, कार्ड, कपडाको थैलो, मतदान कक्षको छेकवारा, फारमलगायत सामग्री आवश्यक पर्ने उहाँको भनाइ छ । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले गत २०७९ सालको निर्वाचनमा कोरोनाका कारण ९४ सामग्रीको प्रयोग गरेकोमा अहिले केही कम वस्तुको प्रयोग हुने बताउनु भयो ।
उहाँले सरकारले निर्वाचनको मिति तोकेपछि अध्यादेशमार्फत कात्तिक मसान्तसम्मका लागि मतदाता नामावली अद्यावधिक गर्न समय थपिएको बताउनु भयो । अहिले पनि देशभर मतदाता नामावली संकलनको कार्य भइरहेको उहाँको भनाइ छ ।