खोटाङ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले महुरे–फोक्सिङटार सडक कालोपत्रको शुभारम्म गर्नुभएको छ । तत्कालीन प्रधानमन्त्री स्वर्गीय मनमोहन अधिकारीले २०५१ सालमा शिलान्यास गर्नुभएको यो सडक कालोपत्र सुरु गर्नका लागि आइतबार मन्त्री दाहालले शिलालेख अनावरण गर्नु भयो ।
दिक्तेल–गाईघाट सडकखण्डको फोक्सिङटारदेखि सिम्पानीसम्म र सिम्पानीदेखि महुरेसम्मको सडक कालोपत्रका लागि नेपाल सरकारले ८६ करोड रुपैयाँ बजेट उपलब्ध गराएको गाईघाट–दिक्तेल सडक आयोजनाका प्रमुख इन्जिनियर पशुपति ज्ञवालीले जानकारी दिनुभएको छ ।
आयोजना प्रमुख ज्ञवालीका अनुसार पहिलो खण्डको सडक कालोपत्रको जिम्मा दिव्यज्योति कन्ट्रक्सन प्रालि धादिङले लिएको छ भने, दोस्रो खण्डको सडक कालोपत्रको जिम्मा रायमाझी कन्ट्रक्सन प्रालि काठमाडौंले लिएको जनाइएको छ ।
दिव्यज्योति कन्ट्रक्सनले ४२ करोड लागतमा सम्पन्न गर्नेगरी २०८१ चैत–१७ गते तथा रायमाझी कन्ट्रक्सनले ४४ करोड लागतमा सम्पन्न गर्नेगरी २०८१ माघ–२ गते सम्झौता गरेका थिए ।
दुवै सडकखण्ड चार वर्षभित्र सम्पन्न गर्नेगरी सडक आयोजना कार्यालयसँग सम्झौता गरेर कालोपत्रको काम थालिएको ठेकेदार कम्पनीहरुले जनाएका छन् ।
फोक्सिङटारमा आयोजित सडक कालोपत्र शुभारम्म कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री दाहालले खोटाङबाट पूर्वी तराईका विभिन्न जिल्ला जोड्ने यस सडक कालोपत्रको काम जिम्मेवार भएर समयमा सम्पन्न गर्न ठेकेदार कम्पनीलाई निर्देशन दिनुभयो । मन्त्री दाहालले भन्नुभयो, 'कालोपत्र समयमा सम्पन्न गर्नका लागि जनस्तरबाट पनि खबरदारी आवश्यक छ । यो सडक दुई लेनको बन्नेछ । सडक बनाउनका लागि मन्त्रालय प्रतिवद्ध छ ।'
मन्त्री दाहालले सुनकोशीस्थित फोक्सिङटारको मोटररेबल पक्की पुल पुनः निर्माण गर्ने प्रतिबद्धता समेत जनाउनु भयो ।
गत असोज–१२ गते आएको बाढीले बगाएको पक्की पुल निर्माण गर्न अर्थ मन्त्रालयले ३५ करोड रुपैयाँ बजेट सुनिश्चित गरिसकेको र आगामी डेढ वर्षभित्रै फोक्सिङटार पुल पुनः निर्माणको काम सम्पन्न हुने उहाँको भनाइ छ ।
सगरमाथा लोकमार्ग अन्तरगत पर्ने दिक्तेल–गाईघाट सडकखण्डको महुरे–फोक्सिङटार सडक यसअघि पनि कालोपत्रको काम सुरु गरिएको थियो । ठेकेदारको लापरबाहीले समयमा कालोपत्रको काम सम्पन्न नभएपछि मन्त्रालयले ठेक्का तोडेर अर्को ठेकेदार कम्पनीसँग सम्झौता गरी पुनः कालोपत्रको काम शुरु गरेको हो ।