काठमाडौं । काठमाडौंमा आयोजित अन्तराष्ट्रिय स्तरको राष्ट्रसेवा शक्ति साधना नशामुक्ति शिविर सम्पन्न भएको छ । भगवती मानवकल्याण संगठनले पशुपतिनाथ मन्दिर परिसरमा आयोजना गरेको शिविरमा करिब ३५ सय व्यक्तिहरू नशामुक्त भएका छन् ।
नशामुक्तिका लागि उपस्थित सहभागीहरूलाई योगिराज शक्तिपुत्रजी महाराजले शक्तिपाठको माध्यमबाट नशामुक्त गर्नुभएको हो । उहाँले नेपाल र भारत विश्वमै सनातनको सन्देश दिने पवित्र भूमि भएकाले ऋषिपथमा अघि बढ्न समाजमा साधक तयार हुनुपर्ने आवश्यकता औंल्याउनुभयो ।
शक्ति चेतना जनजागरण शिविरमा श्री शक्तिपुत्रजी महाराजले सहभागीलाई ११ संकल्प गराउनुभयो जसमा नशा‚ मांशाहारमुक्त चरित्रवान‚ चेतनावान बनाउनु‚ पर्यावरणको रक्षा‚ गौ रक्षा लगायतको संकल्प गराइएको थियो ।
गलत कर्म गर्ने व्यक्तिलाई कहिल्यै साथ नदिन र आफू समेत गलत कर्म नगर्न संकल्प गराइएको थियो ।
योग अभ्यास नगर्ने मानिसहरूले आफ्नो स्वास्थ्यमाथि आफैं खेलवाड गरिरहेको भन्दै नियमित समय दिएर रोग अनुरूपका योगासन गर्न सुझाव दिनुभयो ।