रामेछाप । रामेछापको सदरमुकाम मन्थली बजार क्षेत्रमा फुटपाथ निर्माणको काम सुरू भएको छ । सडक डिभिजन कार्यालय खुर्कोट सिन्धुलीले फुटपाथ निर्माणको काम सुरू गरेको हो ।
यो वर्ष मन्थली बजार क्षेत्रको सडक मध्ये ४ सय मिटर सडकमा फुटपाथ बनाउन सडक डिभिजन खुर्कोटले ९५ लाख ९६ हजार रूपैयाँ बजेट विनियोजन गरेको थियो ।
तर जागृति निर्माण सेवा रस्नालु रामेछापले ६१ लाख ४३ हजारमा ठेक्का पारेर काम सुरू गरेको हो । अहिले आगामी असार महिनाको २० गतेभित्रै फुटपाथ निर्माणको योजना सक्ने गरी काम भइरहेको निर्माण व्यवसायी मुकेश सुनुवारले बताउनुभयो ।
६१ लाख ४३ हजार रूपैयाँ बजेटबाट ४ सय मिटर मात्रै फुटपाथ निर्माण हुने भएपनि अरू बाँकी ठाउँमा फुटपाथ बनाउने बारे कुरा भइरहेको उहाँले बताउनुभयो ।
मन्थली बजार क्षेत्रको सडकमा फुटपाथ नहुँदा विद्यार्थी र पैदल यात्रुहरूलाई यात्रा गर्न निकै जोखिम हुने गरेको छ। सानो सडक त्यसमाथि आधा सडक नै ढाक्ने गरी मोटरसाइकल पार्किङ गरिँदा सडक दुर्घटनाको जोखिम पनि बढाएको छ ।
व्यवस्थित फुटपाथ नहुँदा सडक किनारबाट पैदल हिँड्नेलाई समस्या भएको भन्दै मन्थलीवासीले लामो समयदेखि बजार क्षेत्रमा फुटपाथ निर्माणको माग गर्दै आएको थियो ।