सूर्यविनायक-धुलिखेल सडक विस्तारकाे काम सुस्त

दोस्रो खण्डमा पीच नै सुरू, पहिलोकाे अन्योल कायमै
वैशाख २५, २०८२ |पुजन धिताल
सूर्यविनायक-धुलिखेल सडक विस्तारकाे काम सुस्त

काभ्रे । उत्तरी नाका तातोपानी जोड्ने अरनिको राजमार्गअन्तर्गत सूर्यविनायकदेखि धुलिखेलसम्मको १६ किमी सडक ६ लेन बनाउन सुरू गरिएको तीन वर्ष हुनै लागेको छ । तर, राजमार्ग निर्माण भने अहिलेसम्म करिब ३५ प्रतिशत मात्र काम सम्पन्न भएको छ। परियोजना २०७९ पुस २४ बाट सुरू भई ३६ महिनाभित्र सक्ने लक्ष्य थियो।

सडक दुई खण्डमा विभाजन गरिएको छ । जसमा सूर्यविनायक-साँगा (७.५ किमी) खण्डको लागत ३ अर्ब ८८ करोड र साँगा-धुलिखेल (८.४ किमी) खण्डको लागत ४ अर्ब ५ करोड रूपैयाँ रहेको छ। 

बजेट अभाव र भूगोलजन्य कठिनाई, मुवाब्जा वितरण, स्थानियको अवरोधका कारण सडक विस्तार कार्य ढिलाइ भएको हो भने तोकिएको ३६ महिनामा काम नसकिने पक्का भएको छ ।

हाल पर्खाल, नाली र कलभर्ट निर्माण अन्तिम चरणमा पुगेको छ भने साँगा क्षेत्र र धुलिखेल बासघारी अगाडी भिर नजिकै निर्माण गर्नु पर्ने कल्भर्टमा पनि भिर र घुम्ति नजिकै निर्माण गर्नु पर्ने हुनाले समस्या परेको बताइएको छ।

यो सडक चीनको तातोपानी नाका खुला भए सवारी चाप बढाउने महत्त्वपूर्ण मार्ग हो। हालै पनि कोटेश्वरबाट दैनिक १ हजारभन्दा बढी लामो दूरीका सवारी यही सडक हुँदै छुट्ने गरेका छन। काठमाडौँ र पूर्वी नेपाल जोड्ने यो मार्ग मधेश र कोशी प्रदेशका लागि पनि मुख्य सञ्जाल हो।

अहिले दोस्रो खन्ड अर्थात साँगादेखि धुलिखेलसम्मको खन्डमा करिब २ किमि जति धुलिखेलबाट बनेपातर्फ बासघारी चोकसम्म पीच समेत भैसकेको छ भने बनेपा पुल बजार क्षेत्रमा भने सिमा विवादका कारण निर्माण नै रोकिएको छ ।

पहिलो खण्डमा काम सुस्त छ भने दोस्रो खण्डमा भने तुलनात्मक रूपमा काम अघि बढेको छ तर सबै क्षेत्रमा विस्तारको गति भने सन्तोस जनक नदेखिँदा आयोजनाको समय लम्बिने निश्चित छ । दैनिक यो राजमार्ग प्रयोग गर्दै आएको सवारीले सामन्य बर्षा र अन्य समयमा समेत लामो जाम र धुवा धुलोको सास्ती खेप्दै आएका छन ।


Image

पुजन धिताल

धिताल कान्तिपुर टेलिभिजनका काभ्रे संवाददाता हुन् ।