ताप्लेजुङ । फुङलिङ नगरपालिकाले शुक्रबारका लागि दिएको शोक विदा विवादमा परेको छ । २०७३ चैत्र २० देखि ७४ साल असोज ८ गतेसम्म कार्यकारी अधिकृतको जिम्मेवारीमा रहेका युवराज ढकालको बुधबार निधन भएपछि शुक्रबार शोक विदा दिने निर्णय बिहीबार नगरपालिकाले गरेको थियो ।
ढकालको चैत्र २७ गते निधन भएको हो । नगरपालिकाको निर्णयप्रति वडाहरूले आपत्ती जनाएका छन् । वाड नं-४ का वडाध्यक्ष दुर्गा पालुङवाले वडा खुला रहने जनाएका छन् ।
‘बिदाको निर्णय कार्यपालिकाको निर्णय बिना भएको जानकारी गराउँदछु वडाध्यक्ष पालुङवाले फेसबुकमा लेख्नुभएको छ, ‘सेवा बन्द हुने छैन ।’
काठमाडौंमा रहेका नगरपालिका प्रमुख अमिर मादेनले आफ्नो निर्देशनमा बिदा दिएको बताउनुभएकाे छ । तर, विदाको सूचनामा निमित्त प्रमुख प्रशासकिय अधिकृत लेखेर हस्ताक्षर गरेपनि हस्ताक्षर कर्ताको नाम उल्लेख छैन ।
नगर प्रमुख मादेन, उपप्रमुख भिमा ओझा र प्रमुख प्रशासकिय अधिकृत कृष्ण गौतम जिल्लाबाहिर रहेको नगरपालिका प्रवत्ता मोहन न्यौपानेले जानकारी दिनुभयो । नगरपालिकाले अत्यावश्यकबाहेकको सेवा बन्द हुने जनाएको छ ।