गाजाको समुद्री किनारस्थित एक क्याफेमा इजरायली सेनाको आक्रमण, २० जनाको मृत्यु

मारिनेमा पत्रकार, अभियन्ता र स्थानीय
असार १७, २०८२ |अन्तर्राष्ट्रिय ब्युरो
गाजाको समुद्री किनारस्थित एक क्याफेमा इजरायली सेनाको आक्रमण, २० जनाको मृत्यु

काठमाडौं । गाजाको समुद्री किनारमा रहेको एक क्याफेमा इजरायलको आक्रमणमा कम्तीमा २० जना प्यालेस्टिनीको मृत्यु भएको छ । 

ज्यान गुमाउनेमा पत्रकार, सामाजिक अभियन्ता र स्थानीय रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । इन्टरनेट सुविधा भएको उक्त क्याफेलाई कार्यस्थलको रूपमा प्रयोग गरिँदै आएको थियो । 

स्थानीय पत्रकार अजीज अल-अफीफीकाअनुसार, आफू क्याफेतर्फ जाँदै गर्दा शक्तिशाली विस्फोट भएको र घटनास्थलमा पुग्दा साथीहरू मृत अवस्थामा भेटिएका थिए । 

घाइतेलाई उपचारका लागि गाजाको अल-अहली अस्पताल लगिएको छ । इजरायली सेनाले यसबारे अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन् । सो आक्रमण इजरायलले गाजामा रातभर सञ्चालन गरेको हवाई कारबाहीपश्चात भएको हो । 

इजरायली आक्रमणले गाजामा लाखौँ प्यालेस्टिनी परिवारलाई विस्थापित गरिदिएको छ । राहतका लागि सहायता केन्द्र पुग्ने प्यालेस्टिनीहरूमाथि दैनिकजसो इजरायली सेनाले गोली हानीरहेको छ । 

यसैबीच, इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूमाथि युद्ध रोक्न र युद्धविराम सम्झौतातर्फ अघि बढ्न अन्तर्राष्ट्रिय दबाब बढ्दै गएको छ । शनिबार अमेरिकी राष्ट्रपति डनल्ड ट्रम्पले समेत नेतन्याहू हाल हमाससँग युद्धविरामको प्रयासमा रहेको बताउनुभएको थियो ।