काठमाडौै । टेरामक्स भ्रष्टाचार प्रकरणमा मुछिएका पूर्व सञ्चारमन्त्री मोहनबहादुर बस्नेतलाई धरौटीमा छाड्न विशेष अदालतले आदेश दिएको छ ।विशेष अदालतका न्यायाधीशहरू तेजनारायण सिंह राई, रामबहादुर थापा र विदुर कोइरालाको इजलासले बस्नेतलाई आइतबार २५ लाख धरौटीमा छाड्न आदेश दिएको हो ।
३ अर्ब २१ करोड विगो दाबीसहित आरोपी बनाइएका बस्नेत हिजै बयानका लागि अदालतमा उपस्थित भएका थिए । बयान र थुनछेकपछि अदालतले धरौटीमा छाड्न आदेश दिएको हो । नेपाल दूरसञ्चार प्राधिकरणको टेरामक्स प्रविधि खरिद प्रकरणमा बस्नेतमाथि भ्रष्टाचार मुद्दा लागेको हो ।
प्राधिकरणका लागि टेरामक्स प्रविधिका उपकरण खरिद घोटालामा बस्नेत र पूर्व कानुन सचिव धनराज ज्ञवालीसहित १६ जना व्यक्ति र दुई कम्पनीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।