आल्काराज विम्बल्डन ग्रान्ड-स्लाम टेनिसको दोस्रो चरणमा

असार १७, २०८२ |खेल ब्युरो
आल्काराज विम्बल्डन ग्रान्ड-स्लाम टेनिसको दोस्रो चरणमा

काठमाडौं । दुई पटकका डिफेन्डिङ च्याम्पियन कार्लोस आल्काराज विम्बल्डन ग्रान्ड-स्लाम टेनिसको दोस्रो चरणमा प्रवेश गरेका छन् ।

पहिलो चरणमा इटालियन अनुभवी खेलाडी फाबियो फोग्निनीविरूद्ध अप्रत्याशित हारबाट जोगिँदै आल्काराजले दोस्रो चरणमा स्थान बनाएका हुन् ।

सेन्टर कोर्टमा २२ वर्षीय स्पेनिस खेलाडी आल्काराजले ७-५, ६-७ , ७-५, २-६ र ६-१ को संघर्षपूर्ण जित हात पारे । जितसँगै आल्काराजले ब्रिटिस क्वालिफायर ओलिभर टारभेटसँगको भेट पक्का गरेका छन् ।

४ घण्टा ३० मिनेटसम्म चलेको खेल तीव्र गर्मीबीच सम्पन्न भएको थियो । तापक्रम ३२ डिग्री सेल्सियसभन्दा माथि पुगेको थियो । आल्काराजले खेल अवधिभर सर्भिसमा समस्या र ग्राउन्डस्ट्रोकमा अस्वाभाविक त्रुटि गरे पनि निर्णायक सेटमा पुनः लय समातेर जित सुनिश्चित गरे ।

यससँगै फ्रेन्च ओपनमा उपाधि जित्दै पाँचौँ ग्रान्डस्लाम हात पारेका आल्काराजले आफ्नो अपराजित यात्रालाई १९ खेलसम्म पुर्‍याएका छन् ।

अब दोस्रो चरणमा आल्काराजले २१ वर्षीय ब्रिटिस खेलाडी टारभेटसँग प्रतिस्पर्धा गर्नेछन् । उनले आफ्नो पहिलो विम्बलडन खेलमा स्वीट्जरल्यान्डका लेअन्द्रो रिडीलाई हराएका थिए ।