बिस्का जात्राको रथ बिग्रियो, मर्मत जारी

चैत्र ३०, २०८१ |सुन्दर शिल्पकार
बिस्का जात्राको रथ बिग्रियो, मर्मत जारी

भक्तपुर । भक्तपुरको ऐतिहासिक एवं सांस्कृतिक महत्व बाकेको बिस्का जात्राको भैलःख अर्थात रथ बिग्रिएको छ। बिस्का जात्राको पहिलो दिन रथ तानातान हुने क्रममा घरमा ठोकिएर रथको छाना बिग्रिएपछि अहिले रथ मर्मत गर्ने काम भइरहेको छ ।

पहिलो दिनको जात्रामा रथ एउटा घरमा ठोकिँदा रथको पहिलो तलाको तीनवटा छाना बिग्रिएको थियो। यस्तै रथको बेलम्पु र चुकुलहरू पनि मर्मत गर्नुपर्ने गुठी संस्थान भक्तपुरले जनाएको छ।

भोलि अर्थात् आइतबार साँझ ५५ हात लामो लिङ्गो उभ्याउनको लागि रथ मर्मतको काम अहिले भइरहेको गुठी संस्थान भक्तपुरले जनाएको छ। भोलि पुनः यो रथ तानिन्छ ।

पहिलो दिनको जात्रा सकाएर गहितिमा पुर्‍याएको रथलाई आइतबार साँझ त्यहाँबाट तानेर यो सिः द्यो अर्थत लिङ्गो उभ्याउने स्थान योसिङ खेलसम्म पुर्‍याइन्छ।

रथ योसिङ खेलमा पुगिसकेपछि मात्र साँझ ५५ हात लामो यो सिःद्यो उभ्याउने जात्रा सुरू हुन्छ भने सोही सिःद्योलाई वैशाख १ गते साँझ पुनः ढालेर जात्रा गरिन्छ ।


Image

सुन्दर शिल्पकार

शिल्पकार कान्तिपुर टेलिभिजनका भक्तपुर संवाददाता हुन् ।