अर्घाखाँचीमा चट्याङ लागेर एकको मृत्यु, पाणिनि गाउँपालिकामा हावाहुरीले १७ घर-गोठका छाना उडायो

चैत्र २८, २०८१ |रुद्रमणि भुसाल
अर्घाखाँचीमा चट्याङ लागेर एकको मृत्यु, पाणिनि गाउँपालिकामा हावाहुरीले १७ घर-गोठका छाना उडायो

अर्घाखाँची । अर्घाखाँचीको भूमिकास्थान नगरपालिकामा चट्याङ लागेका एक जना वृद्धको उपचारको क्रममा मृत्यु भएको छ । चट्याङ लागेर गम्भीर घाइते भएका  भूमिकास्थान नगरपालिका-१० लिसेपानी बस्ने ७२ वर्षीय एमबहादुर घर्तीको उपचारका क्रममा मृत्यु भएको जिल्ला अस्पताल अर्घाखाँचीले जनाएको छ ।

बिहान अन्दाजी ९ बजे चट्याङ लागेको खबर प्राप्त हुनसाथ धनचौर प्रहरी चौकीबाट गएको प्रहरीको टोलीले घाइतेलाई उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल सन्धिखर्कतर्फ पठाएको थियो । घरमा रहेका अन्य परिवार सकुशल छन् । 

यसैगरी, गए रातीको हावाहुरीले पाणिनि गाउँपालिका-६ धातिबाङ्गमा १७ घर-गोठका छाना उडाएको छ । वडाभरिमा ११ वटा घर र ६ वटा गोठका छानो हावाहुरीले उडाएको वडाध्यक्ष कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । हावाहुरीले छानो उडाएका घरगोठ तथा अन्य क्षतिको विवरण संकलन गर्ने काम भइरहेको वडाध्यक्ष पौडेलले बताउनु भयो ।

यसैगरी, सन्धिखर्क नगरपालिका-१० धरमपानीका कमल जिसीको कुखराको खोर गए रातीको हावाहुरीले पूर्ण क्षति भएको छ । खोरमा रहेका झन्डै १ सय ५० वटा कुखरा च्याप्पिएर मरेका छन् ।


Image

रुद्रमणि भुसाल

भुसाल कान्तिपुर टेलिभिजनका अर्घाखाँची संवाददाता हुन् ।