ट्रेकिङ या पर्वतारोहणमा जाँदा के-के सामग्री चाहिन्छ त ?

चैत्र २४, २०८१ |भरत रावल
ट्रेकिङ या पर्वतारोहणमा जाँदा के-के सामग्री चाहिन्छ त ?

काठमाडौं । अहिले ट्रेकिङ र पर्वतारोहणको सिजन हो । यो सिजनमा तपाईं ट्रेकिङ या पर्वतारोहणमा जाने तयारीमा हुनुहुन्छ ? छ भने त्यसका लागि के-के सामग्री चाहिन्छ त ? र, त्यस्ता वस्तुको औसत मूल्य कति पर्छ ?

हिमाल आरोहणका लागि आरोहीलाई धेरै सामान चाहिन्छ । कतिपय सामान ट्राभल एजेन्सीले व्यवस्था गर्छ भने केही आरोही आफैंले व्यवस्था गर्नुपर्ने हुन्छ । ८ हजार मिटरको हिमाल आरोहण गर्न एक आरोहीले १० लाखभन्दा बढीको सामान खरिद गर्नुपर्ने हुन्छ ।

यसरी खरिद गरिने सामग्री अधिकांश विदेशी भएपनि पछिल्लो समय स्लिपिङब्याग, समिटसुट, ज्याकेटजस्ता वस्तु नेपालमै बन्ने गरेका छन् । विदेशी सुटको २ लाख रुपैयाँसम्म पर्ने गरेको भएपनि नेपाली सुट भने ७० देखि ८० हजारमै पाईन्छ । 

त्यस्तै अक्सिजन सिलिण्डर नयाँ खरिद गर्दा ५० हजार पर्छ भने भर्नमात्रै २० हजारभन्दा बढी पर्छ, अक्सिजन मास्कको ४० हजार र रेगुलेटरको ६० हजार भन्दा बढी पर्छ । त्यतिमात्रै होईन गाईडहरूले पनि उति नै सामानको व्यवस्थापन गर्नुपर्ने हुन्छ ।

यो सिजनमा हिमाल आरोहणमात्रै होइन ट्रेकिङ अर्थात् पदयात्रामा जानेहरु पनि धेरै हुन्छन् । काठमाडौंबाट नजिकको दुरीमा पर्ने गन्तव्यदेखि दुई/तीन हप्ता लाग्ने अन्नपूर्ण र सगरमाथा बेसक्याम्पसम्म पदयात्रा गरिन्छ । 

पथप्रर्दशकले आˆनो आवश्यकता अनुसार सामान बोक्ने गरेपनि एक पदयात्रीलाई कम्तीमा पनि ३० देखि ४० हजारको सामान आवश्यक पर्छ । तर नेपाली बजारमा पदयात्रीको बजेटअनुसारका सामान पनि पाइन्छन् ।

पदयात्रीलाई यात्रामा जान ज्याकेट, स्लिपिङ ब्याग, थर्मकोट, वार्म पाईन्ट, ट्रेकिङ पाईट, जुत्ता, स्टिक, मोजा, पानीको बोटल, व्याग, निक क्याब, टावेल, लाईट, क्याप, पन्जजस्ता दुई दर्जनभन्दा बढी सामग्री आवश्यक पर्छ ।

सन् २०२३ मा नेपाल घुम्न आएकामध्ये १५ प्रतिशत विदेशी पर्यटक ट्रेकिङ र पर्वतारोहणमा गएको पर्यटन मन्त्रालयको तथ्यांक छ । पछिल्ला वर्षहरुमा नेपाली पनि पदयात्रा र पर्वतारोहणमा निस्कने गरेका छन् ।


Image

भरत रावल

रावल कान्तिपुर टेलिभिजनको अर्थ ब्युरोमा कार्यरत छन् ।