
रामेछाप । जिल्लाको लिखुतामाकोशी गाउँपालिका २ र ४ जोडिने नागी पहरे–पुलु–बेलौरी सडक खनिएको दशक बितेपछि यातायातका साधन चल्न थालेका छन् ।
सडक बनेको १० वर्षपछि अरनिको यातायातको बस पुगेपछि गाउँमा खुसी छाएको हो । बस सञ्चालनसँगै पहरे, रादुङ, दुसिम, डाँडा खर्क, जेटीलगायतका बस्तीका बासिन्दाको जीवन सहज भएकाे छ । यस सडकले रादुङ र दुसिम गाउँमा उत्पादन हुने जुनार, सुन्तला र अन्य अमिलो जातका फलफूल बजारसम्म पुर्याउन सहज हुनेछ ।
आइतबारबाट काठमाडौंको चाबहिलबाट धोबी, नागी हुँदै पहरे–पुलु–बेलौरीसम्म नियमित बस सेवा सुरू भएको वडा नं २ सैपुका वडाध्यक्ष सन्तोष पौडेलले बताउनभयो । बस सेवा सञ्चालनसँगै गाउँका बासिन्दालाई आवतजावत र सामान ढुवानीमा सहजता हुने अपेक्षा गरिएको उहाँले बताउनुभयो ।
नियमित बस सञ्चालनले लिखुतामाकोशी गाउँपालिकाका वडा नं २ र ४ का बस्तीहरूमा आर्थिक, सामाजिक र शैक्षिक विकासमा नयाँ गति ल्याउने वडा अध्यक्ष पौडेलको विश्वास छ ।