
काठमाडौं । प्रहरीले काठमाडौं महानगरपालिका-१२ टेकु ह्युमतबाट अवैध लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थसहित दुई जनालाई पक्राउ गरेको छ ।
प्रहरीले ९२० मिलिग्राम, नगद रू ३२ हजार र मोबाइल पाँच थानसहित पक्राउ परेका दुई जनाको कोठाबाट थप रिभल्वर दुई थान र गोली बरामद गरेको छ । लागुऔषधसहित पक्राउ परेका काठमाडौं महानगरपालिका-१२ बस्ने १९ वर्षीय सुजन श्रेष्ठ र २१ वर्षीय अमर शाहीको घर पछाडी लुकाइराखेको रिभल्वर एक थान तथा गोली दुई राउन्ड र सुजनको घरमा लुकाइराखेको रिभल्वर एक थान तथा गोली चार राउन्ड फेला पारेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “हाम्रो टोली र प्रहरीवृत्त कालीमाटीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको थियो, थप अनुसन्धानका क्रममा उनीहरूको घरबाट शनिबार रिभल्वर दुई थान र गोली बरामद गरिएको छ ।” उक्त विषयमा आवश्यक थप अनुसन्धान कार्य भइरहेको सूचना अधिकारी आचार्यले बताउनुभयो ।-रासस