अमेरिका पुर्‍याइएका २१ वटा पुरातात्विक सम्पती नेपाल फिर्ता

चैत्र १७, २०८१ |कान्तिपुर टीभी संवाददाता
अमेरिका पुर्‍याइएका २१ वटा पुरातात्विक सम्पती नेपाल फिर्ता

काठमाडौं । नेपालबाट चोरी गरी अमेरिका पुर्‍याइएका २१ वटा पुरातात्विक महत्वका कलात्मक वस्तुहरु नेपाल फिर्ता ल्याइएको छ । आईतबार बिहान पुरातत्व विभागले मूर्तिहरुलाई सम्बन्धन्धित स्थानीय तहलाई हस्तान्तरण गरेको हो ।

यीमध्ये तीनवटा पौवा चित्रहरु (१५-१८ औं शताब्दी)का रहेका छन् । यी पौवा चित्रहरु काठमाडौंस्थित इटुम्बहालबाट वि.स. २०३७ सालमा हराएका थिए भने एउटा प्रस्तरबाट निर्मित स्थानक बुद्धको मूर्ति (९ औं शताब्दी) बुङमतिको मच्छिन्द्रबहाल परिसरको चैत्यबाट हराएको थियो ।

साथै आर्ट इन्स्टिच्युट शिकागोबाट फिर्ता भएको पाटनको गुइत टोलको गुइत चैत्यको प्रस्तरको मुद्धलिन्द बुद्धको मूर्ति वान (१२–१३ औँ शताब्दी) तथा अन्य १६ थान कलात्मक वस्तुहरु (९-१९औं शताब्दी) पनि नेपालका विभिन्न ठाउँबाट हराएर अमेरिका पुगेका थिए ।

कार्यक्रममा बोल्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले नेपाली सम्पदाहरु संसारको कुनैपनि कुनामा पुगेपनि नेपाली सम्पदाको महत्वलाई बुझेर सम्पदा फर्काउने योग्यता राख्ने बताउनु भयो ।

अब नेपालबाट मूर्तिहरु चोर्ने कुचेष्ठा गर्न नसक्ने बताउनु भयो । विगतमा गएका चिजहरु अहिले फर्किनु पनि सकारात्मक रहेको जिकिर गर्नुभयो । विगतमा यस्ता किसिमका सम्पतीहरु कसरी गए ? भन्दै प्रश्न गर्नुभयो ।

अब दुराचार गर्ने समय नरहेकाले चोरी हुन नसक्ने बताउनु भयो । मूर्तिहरु प्रतिष्थापनका लागि आफूहरु प्रतिवद्ध रहेको र आर्थिक अवस्थाको चिन्ता नगर्न आग्रह गर्नुभयो । स्थानीय सरकारहरु आफ्नो आस्था जोगाउन अब सक्षम रहेको जिकिर गर्नुभयो । आस्थाका धरोहरहरु विगतमा हराएका ठाउँमै प्रतिस्थापन गर्न प्रतिवद्ध रहेको बताउनु भयो ।

अहिलेसम्म बेलायत, अष्ट्रिया, अमेरिका, चीन, (तिब्बत), भारत, जर्मनी, अष्ट्रेलिया र इटलीबाट जम्मा १७७ थान पुरातात्विक महत्वका मूर्तिहरु तथा कलात्मक वस्तुहरु विभिन्न राष्ट्रिय अन्तर्राष्ट्रिय व्यक्ति तथा संघ संस्थाहरुको प्रयासबाट फिर्ता भइसकेका छन् ।

अमेरिका, फ्रान्स, बेलायत, चीन, अष्ट्रिया, अष्ट्रेलियाजस्ता देशहरुबाट थप अरु केही कलात्मक वस्तुहरु फिर्ताको लागि कुटनीतिक पहल भइरहेको छ । संयुक्त राज्य अमेरिकाबाट मात्र नेपालमा फिर्ता भएका पुरातात्विक महत्व भएका वस्तुहरुको संख्या १०४ पुगेको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.