नवलपरासी । पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिका-१० को चक्ला वन क्षेत्रमा लागेको डढेलो तीन दिन बितिसक्दा पनि नियन्त्रणमा आउन सकेको छैन ।
करिब २ सय हेक्टरमा फैलिएको डढेलो नियन्त्रणको प्रयास भए पनि सुख्खा मौसम र हावा लागेको कारण नियन्त्रणमा आउन नसकेको हो । डढेलो फैलिन नदिन ‘फायर लाइन’ बनाएर डढेलो नियन्त्रणको प्रयसा भइरहेको डिभिजन वन कार्यालय नवलपुरका सूचना अधिकारी शिशिर लम्सालले बताउनुभयो ।
यसैगरी, मध्यविन्दु नगरपालिकाको मैनाघाट र खयरसाल सामुदायिक वन र राष्ट्रिय वन क्षेत्रमा पनि डढेलो लागेको छ । डढेलो नियन्त्रणका लागि स्थानीय, सामुदायिक वन उपभोक्ता र वन कार्यालयको टोलीले आगो निभाउने प्रयास गरे पनि हावाका कारण समस्या परेको छ ।
जिल्लाका १० स्थानका वन क्षेत्रमा डढेलो लागेको र ६ स्थानमा नियन्त्रणमा आए पनि चार स्थानमा अझै डढेलो लागिरहेको छ । डढेलोका कारण पूर्वी नवलपरासीको वायुमण्डल धुवाँले ढाकेको छ । धुवाँकै कारण बाहिर हिँडडुल गर्दा आँखा पोल्ने समस्या छ ।