हुम्लाको खार्पुनाथबाट हराएको ८ दिनपछि मृत भेटिए बालक

कार्तिक २१, २०८१ |जनकबहादुर शाही
हुम्लाको खार्पुनाथबाट हराएको ८ दिनपछि मृत भेटिए बालक

हुम्ला । आठ दिनदेखि हराइरहेका खार्पुनाथ गाउँपालिका-३ रायाका एक बालक मृत अवस्थामा फेला परेका छन् । राया गाउँ निवासी लोकेन्द्र रोकायाका तीन वर्षका कान्छा छोरा सदर रोकाया कात्तिक १४ गते घरबाट हराएका थिए । त्यसयता सम्पर्कमा नआएपछि स्थानीय र प्रहरीले खोजतलास गर्दा हराएको आठ दिनपछि बुधबार राया र कारङ गाउँको बीच भएर बग्ने कारङ खोलामा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रमुख डीएसपी रवीन्द्र खनालले जानकारी दिनु भयो ।

घरपरिवार सबै घरमा हुँदा दिउँसोको नास्तापछि बालककी आमा आइती रोकाया वनमा घाँस काट्न निस्किएपछि बालक आमालाई खोज्न पछि लागेको जाँदा हराएको अनुमान गरिएको खार्पुनाथ-३ का वडाध्यक्ष च्यागा बोहराले जनाउनु भयो । 

वडाध्यक्ष बोहराले भन्नुभयो, 'बालक नभेटिएपछि हराएको दोस्रो दिन प्रहरीलाई जानकारी गराएका थियौं । ८ दिनपछि गाउँ नजिकैको खोलामा मृत अवस्थामा भेटियो ।'

बालक बेपत्ता भएको दिनबाटै खोजी कार्य जारी राखेको भए पनि नभेटिएका बालक आज कारङ खोलामा मृत अवस्थामा फेला परेपछि पोस्टमार्टमका लागि जिल्ला अस्पताल सीमकोट लगिएको छ ।


Image

जनकबहादुर शाही

शाही कान्तिपुर टेलिभिजनका हुम्ला संवाददाता हुन् ।