बैतडीमा भन्सार छलि गरेर ल्याउँदै गरेको ३२ पेटी बिडी बरामद

पुस १७, २०८१ |मनोज बडू
बैतडीमा भन्सार छलि गरेर ल्याउँदै गरेको ३२ पेटी बिडी बरामद

दार्चुला । बैतडी प्रहरीले दुई ठाँउबाट १६ लाख बढी भन्सार छलिको बिडी बरामद गरेको छ । मंगलबार फरक ठाउँमा दुईवटा यात्रुबाहक जिप चेकजाँच गर्दा प्रहरीले अवैध रुपमा नेपाल भित्रिएको ३२ पेटी बिडी बरामद गरेको हो ।

जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले मंगलबार बिहान दोगडकेदार गाउपालिका–४ र सुर्नया गाउपालिका-६ बाट भन्सार छलीको बिडी बरामद गरेको हो । दुईवटै ठाउँबाट १६ लाख ३२ हजार मूल्य बराबरको अवैध बिडी, गाडी र सवारी चालकहरु नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

दोगडाकेदारको लट्क्वालीमा से १ ज ८४४ नम्बरको बोलेरो जिप चेकजाच गर्ने क्रममा आठ लाख १६ हजार रुपैयाँ बराबरको १६ पेटी बिडी बरामद गरिएको बैतडी प्रहरीका प्रवक्ता बलराम पाण्डेयले जानकारी दिनुभयो । ‘जिपमा भन्सार छलीको बिडी फेला परेपछि जिप चालक २६ वर्षीय सुरज ठगुन्नासहित जिपलाई नियन्त्रणमा लिएको छौं,’ पाण्डेयले भन्नुभयो । 

यस्तै सुर्नया गाउँपालिका-६ रीगामा से १ ज २२१ नम्बरको बोलेर जिप चेकजाँच गर्ने क्रममा उक्त जिपबाट आठ लाख १६ हजार रुपैयाँ बराबरको १६ पेटी बिडी बरामद गरिएको छ । सुर्नया गाउपालिका-२ का २१ वर्षीय जिप चालक हरिश बिष्टसहित जिपलाई पनि नियन्त्रणमा लिएको प्रवक्ता निरीक्षक पाण्डेयले बताउनु भयो । प्रहरीले नियन्त्रणमा लिएका सामान, गाडी र गाडी चालक दुवै जनालाई आवश्यक कारवाहीका लागि महाकाली भन्सार कार्यालय झुलाघाट बुझाइएको प्रहरीले जानकारी दिनुभयो ।


Image

मनोज बडू

बडू दार्चुलास्थित कान्तिपुर टीभीका संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement