ग्राण्डी सिटी क्लिनिक एण्ड हस्पीटलले अदालतको अपमान गर्यो : ज्योति समूह

कार्तिक ११, २०८१ |कान्तिपुर टीभी संवाददाता
ग्राण्डी सिटी क्लिनिक एण्ड हस्पीटलले अदालतको अपमान गर्यो : ज्योति समूह

काठमाडौं । ज्योति समूहले अस्पतालजस्तो संवेदनशील स्थान (ग्राण्डी सिटी क्लिनिक एण्ड हस्पीटल)लाई ७ दिनभित्र खाली गराउन जबरजस्ती गरिएको भन्ने समाचार प्रायोजित र कपोलकल्पित भएको भन्दै आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

ज्योति समूहले एक विज्ञप्ती जारी गर्दै विगत केही दिनदेखि विभिन्न अनलाईन मिडिया तथा युट्युब च्यानलहरुमा वास्तविकता नबुझी हचुवाको भरमा एकतर्फी समाचार संप्रेषण भईरहेको भन्दै गम्भीर आपत्ती जनाएको हो ।

उक्त समूहले आफुहरुले ७ दिनभित्र नभएर लामो समयदेखि यस्तो आग्रह गर्दै आएको र आदालतले समेत ७ दिनभित्र फ्ल्याट खाली गर्न आदेश दिएको स्पष्ट पारेको छ ।

‘अदालतबाट घर / फ्ल्याट खाली गराउनु भनी अन्तिम फैसला भई फैसला कार्यान्वयन गराउन खोज्दा विभिन्न अनलाईन मिडिया तथा युट्युब च्यानलहरुले बिरामीहरुप्रति असंवेदनशील भएको भन्नेजस्ता झुटा आरोप लगाउँदा हामीलाई दुःख लागेको छ’, विज्ञप्तिमा उल्लेख छ ।

ग्राण्डी सिटी क्लिनिक एण्ड हस्पीटल प्रा. लि. ले अदालतको फैसलालाई सम्मान गर्दै आफैं उक्त घर / फ्ल्याट खाली गर्नुपर्नेमा त्यसो नगरी उल्टै तथ्यलाई बंग्याई गलत प्रचार गरेर अदालतको फैसलाको अपमान गरेको ज्योति समूहको ठहर छ । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.