नेकपा (माओवादी केन्द्र)को नेतृत्व प्रणालीका बारे उपमहासचिव जनार्दन शर्मा ‘प्रभाकर‘को ‘थेसिस’ हो– कम्युनिस्ट पार्टीमा सामूहिक नेतृत्वको केन्द्रिकृत मर्म विपरीत पार्टीमा ‘हाइरार्की सिस्टम’ स्थापित गरियो ।
शान्ति सम्झौतासँगै बदलिएको परिस्थिति अनुरूप पार्टीलाई संगठनात्मक संरचना र विधि पद्धति अनुसार चलाउने काम नगरिएको भन्दै बारम्बार असन्तुष्टि पोख्दै आउनुभएका शर्माको बुझाइमा युद्धकालीन कमान्ड प्रणालीबाट लोकतान्त्रिक संगठनात्मक प्रणालीमा रूपान्तरण आवश्यक रहेकोमा पार्टीको संगठनात्मक संरचना र नेतृत्व प्रणालीमा भने युद्धकालीन सोचकै निरन्तरता रह्यो ।
शर्माको त्यही विचारको अभिव्यक्ति थियो, गत साता सम्पन्न माओवादी केन्द्रको केन्द्रीय कमिटीमा नेतृत्वमाथि उठाएको प्रश्न- नेतृत्व चयनका लागि निर्वाचनमा जान किन डराएको ?
कार्यकर्ताले आफ्नो नेतृत्व आफैं चयन गर्ने विधि र व्यवहार निर्माण गर्नुपर्ने वकालत गर्दै आउनुभएका शर्मा केन्द्रीय कमिटी बैठकपछि भने आशावादी देखिन थाल्नुभएको छ । एकहिसाबले पार्टी अब महाधिवेशनतर्फ उन्मुख भएको उहाँको विश्वास छ । "अध्यक्षले त्यही निर्णय सुनाउनुभएको छ, अध्यक्षलाई विश्वास त गर्नुपर्यो नि", शर्माले बताउनुभयो ।
बैठकमा उपमहासचिवद्वय वर्षमान पुन र शर्माले विशेष महाधिवेशनको माग गरिरहँदा अध्यक्ष पुष्पकमल दाहालले पहिले जनतामा ६ महिने अभियान चलाउने र त्यसपछिका ६ महिना महाधिवेशनको तयारी गर्ने निर्णय गराउनुभयो । निर्णय कार्यान्वयन भएको खण्डमा अब माओवादीले देश दौडाहा गर्नेछ र असारको मध्यबाट तयारी सुरू गरेर मंसिरमा महधिवेशन हुनेछ ।
जनार्दन शर्माले २०८१ साउनमा बसेको स्थायी समिति बैठकमा फरक मत दर्ज गरेर नेतृत्वको कठोर समीक्षा गर्दै अध्यक्ष दाहालले पार्टीको जिम्मेवारी नयाँ पुस्तालाई हस्तान्तरण गर्नुपर्ने धारणा राख्नुभएको थियो । नेतृत्व परिवर्तनका लागि शर्माले ३ वटा विकल्प नै अघि सार्नुभएको थियो ।
तीन वटै विकल्प सारमा पार्टीमा साढे ३ दशकदेखि लगातार नेतृत्व गर्दै आउनुभएका अध्यक्ष दाहाललाई नेतृत्वबाट बेदखल गर्ने मनसायस्वरूप आएका हुन् कि भनेर बुझ्नेहरू पनि छन् । पुस्तान्तरणको बहसलाई थप 'स्टिम्युलेट' गर्ने गरी यस्ता प्रस्ताव आएपछि स्वयं जनार्दन शर्माको महत्त्वाकांक्षाका बारे पनि बहस भए ।
अध्यक्ष दाहालमाथि शर्माको त्यो तीव्र दबाब थियो । १८ महिना सरकारको नेतृत्व गरेर भर्खरै सत्ताविमुख भएका दाहाललाई पार्टीभित्र आफू कमजोर भइरहेको बुझाउनका लागि शर्माको फरक मत निर्णायक बन्यो । त्यसअघिसम्म पार्टीमा शर्माले फुट ल्याउन खोजेको र आफ्ना विरुद्ध गुट चलाएको बुझाइ दाहालमा थियो ।
उसो त आफ्नै नेतृत्वको सरकारमा अर्थमन्त्री हुँदा पनि दाहालले शर्मामाथि आफूलाई नटेरेको भन्दै आरोपित गर्ने प्रयास गरेका घटना सार्वजनिक भएका थिए । कतिसम्म भने आफूमाथि निगरानी गर्न दाहालले गुप्तचर नै लगाएको शर्माले आफू निकटलाई बताउनुहुन्थ्यो ।
स्थायी समितिकै बैठकमा पेश गरेको ‘पार्टी निर्माणका समस्या, समाधानका उपाय र आगामी कार्यभार’ नामक प्रस्तावमा शर्माले फरक मत राख्ने विरुद्ध राज्य शक्तिको दुरुपयोग गरेको आरोप लगाउनुभएको थियो ।
अध्यक्ष दाहालले पनि पार्टीकै कार्यक्रमहरूमा शर्माले पार्टी फुटाउने प्रयास गरेकोसम्मका आरोप लगाउनुभएको थियो ।
तर सत्ताविमुख भएपछिको अवस्थामा अस्तव्यस्त पार्टी पंक्ति सम्हाल्न शर्माको साथ दाहाललाई नभई भएन । शर्मासँगको लामो संवादपछि दाहालले आत्मसमीक्षा गर्ने बाचा बाँधेर शर्मालाई नै अघि लगाउँदै 'गाउँ जाने' अभियान थाल्नुभयो ।
२०७८ को महाधिवेशनअघिसम्म वर्षमान पुन र जनार्दन शर्मा दाहालका दुई काँध थिए । महासचिव पदमा दुवैको दाबी थियो, भलै दुईमध्ये एक जसलाई दिए पनि हुने उहाँहरूको सार्वजनिक मत थियो । तर पार्टीको आन्तरिक शक्ति सन्तुलनमा दाहालको रोजाइमा पर्नुभयो अर्का नेता देव गुरुङ । पुन र शर्मा उपमहासचिव बनाइए ।
पदाधिकारीको जिम्मेवारी बाँडफाँटको काइदा पनि दाहालको गजबको थियो, खल्तीबाट नाम निकालेर धमाधम सुनाउने । त्यो शैलीको शर्माले खुलेर आलोचना गर्नुभयो । अर्का नेता हरिबोल गजुरेलले त अध्यक्ष दाहाललाई प्रधानमन्त्रीको राजनीतिक सल्लाहकारका रूपमा दिइरहेको साथ नै छोड्नुभयो ।
गत साउनको स्थायी समितिमा शर्माको फरक मतमा समेटिएका अरू धेरै अंशसँगै पार्टी कमजोर हुनुको कारणका रूपमा उल्लेखित एउटा बुँदा पदाधिकारीको भूमिका बाँडफाँट गर्ने दाहालको शैलीतर्फ लक्षित थियो– पार्टी सञ्चालनको मूल्य मान्यता, विधि, पद्धतिको धज्जी उडाइएका कारण न प्रणालीको स्थापना भयो न संगठनको स्वरूप र कमिटीहरू कतिबेला के बन्छ भन्ने कुरा अन्योलग्रस्त रह्यो ।
त्यसमा सम्भवत: सत्ता सञ्चालनका लागि कांग्रेससँगको गठबन्धन भत्काएर नेकपा एमालेसँग गठबन्धन गर्दा आफूसँग कुनै परामर्श नगरिएको तुष पनि थियो ।
पुसको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष दाहालले शर्माका अभिव्यक्ति र फरक मतहरूतर्फ संकेत गर्दै शर्मालाई भीम रावललाई एमालेले गरेको कारबाहीकै शैलीमा कारबाही गर्न सकिन्थ्यो भन्ने भाव सहितको अभिव्यक्ति नदिनुभएको होइन ।
तर अध्यक्ष दाहालले आफ्नो प्रतिवेदनमा शर्माले उठाउँदै आएका धेरै सवाललाई सम्बोधन गर्ने प्रयास गरेको पार्टीका अन्य नेताको पनि बुझाइ छ । नेताहरूको सम्पत्ति छानबिन गर्ने, सबै नेताहरूले जिम्मेवारी पाउने गरी कार्ययोजना निर्माण गर्ने, पार्टीका नेता कार्यकर्तालाई उत्पादनसँग जोड्ने जस्ता विषयलाई अध्यक्षको प्रतिवेदनले प्रमुखताका साथ उठाएको छ ।
शर्मा त्यसबाट पनि उत्साहित देखिनुहुन्छ । त्यसो त पार्टीको २०८० फागुनमा भएकै विधान महाधिवेशनमा अध्यक्ष दाहालले केन्द्रीय कमिटी निर्वाचनबाटै छनोट हुने घोषणा गर्नुभएको थियो । तर पदाधिकारीका विषयमा त्यो निर्णय भएन । हलबाटै पदाधिकारी पनि प्रत्यक्ष निर्वाचन प्रणालीबाट चुनिनुपर्ने आवाज उठेपछि जवाफमा अध्यक्ष दाहालको भनाइ थियो, "यो विधान आजै लागू हुने होइन, विशेष महाधिवेशनबाट हुने हो भनिसकें ।
अहिलेका लागि प्रत्यक्ष निर्वाचित केन्द्रीय कमिटी भन्नु नै ठूलो कदम हो । मैले नै प्रत्यक्ष निर्वाचन पद्धतिबाटै पार्टीलाई गति दिन सकिन्छ भनेको हो ।"
तर अब भने पदाधिकारी पनि प्रत्यक्ष निर्वाचित हुने प्रणाली अवलम्बन हुने शर्माको विश्वास छ भलै दाहालले प्रतिबद्धता जनाएको त्यो विशेष महाधिवेशन भएन ।
कान्तिपुर टेलिभिजनमा गत सोमबार प्रसारित कार्यक्रम फायरसाइडमा शर्माले भन्नुभयो, "हो, अबको महाधिवेशनले प्रतिस्पर्धात्मक आधारमा नेतृत्व चुन्छ । अहिलेसम्म हामीले त्यसो गरेका थिएनौं, आउने महाधिवेशनदेखि हामी यो नयाँ कुरा हामी गर्दैछौं । अध्यक्ष पनि निर्वाचनबाटै चुनिन्छ ।"
हुन त गत असोज ७ मा फायरसाइडमै अध्यक्ष दाहालले अब आफू स्वतः नेतृत्व नहुने बताउनुभएको थियो । "प्रचण्ड पनि (महाधिवेशनमा) निर्वाचनमा जानुपर्छ, निर्वाचित नै भएर आउनुपर्छ ।"
दाहाललाई सोधिएको थियो, "अनि त्यो निर्वाचनमा पनि दाहाल नै अध्यक्षको प्रत्यासीका रूपमा आउने होला नि !"
जवाफमा दाहालको भनाइ थियो, "त्यो चाहिँ घटनाक्रमका आधारमा हुनेछ, अधिवेशनले के भन्छ त्यसका आधारमा हुन्छ । तर पदाधिकारी होस् वा केन्द्रीय कमिटी, विधि मुताबिक नै छानिने छन्, प्रत्यक्ष निर्वाचन प्रणालीबाटै चुनिनेछन् ।"
तर विधान अधिवेशनको निर्णय भने केन्द्रीय कमिटीका लागि मात्रै निर्वाचन गर्ने भन्नेमा सीमित थियो । पदाधिकारीमा पनि निर्वाचन हुनुपर्ने आवाज उठेपछि दाहालले भन्नुभएको थियो, "म अध्यक्ष र प्रधानमन्त्रीको हैसियतमा छु । आफू बिदा हुनुभन्दा अगाडि कसरी साथीहरूलाई जिम्मा दिने भन्ने मैले पनि सोचेको हुँला नि त ! अहिले नै पदाधिकारी प्रत्यक्ष निर्वाचनबाट भनेर जाने हो भने ढोका खुलेपछि महाधिवेशनसम्म पार्टीभित्र के हुन्छ भनेर सोच्नुभएको छ ?"
त्यो भनाइमा दाहालले आफूपछि पार्टीको नेतृत्व कसलाई सुम्पिने भन्नेबारे सोच बनाइरहेको संकेत गर्नुभएको थियो ।
के दाहाल-शर्मा युद्धविराम भएकै हो ?
शर्मा भन्नुहुन्छ – संघर्ष, एकता, रूपान्तरण हाम्रो नियमित प्रक्रिया हो । पार्टीमा आफ्ना विचारहरू राख्ने, ती विचारहरूमाथि बहस गर्ने र विचारलाई स्थापित गर्ने नियमित प्रक्रिया हो । त्यस कारण बहस पनि जारी छ, एकता पनि छ, संघर्ष पनि छ । यो निरन्तर चलिरहने प्रक्रिया हो ।
आफूले अघि सारेकै अजेन्डामा पार्टी आइपुगेको र केन्द्रीय कमिटी बैठकमा छलफल भएको शर्माको भनाइ छ ।
केन्द्रीय कमिटी बैठक, गरेका निर्णय र यसले पारित गरेको अध्यक्षको प्रतिवेदनले शर्मा र अध्यक्ष दाहालबीचको संघर्ष तत्कालका लागि विश्राम दिएको अर्थमा बुझिएको छ । तर दुईबीचको खास संघर्ष भने अब सुरू हुनेछ । सँगै, पार्टीमा नेतृत्वका आकांक्षी अन्यले पनि दबाब बढाउने पक्का छ । कारण के पनि भने, नेतृत्वका लागि आजसम्म निर्वाचनको अभ्यास नगरेको कम्युनिस्ट दलमा निर्वाचनले एउटा नयाँ संघर्षको बीज रोपेको छ ।
पार्टीमा हाल वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ हुनुहुन्छ । कृष्णबहादुर महरा उपाध्यक्ष र देव गुरुङ महासचिव ।
शर्मा र पुनका अतिरिक्त पम्फा भुसाल, गिरिराजमणि पोखरेल, शक्ति बस्नेत, मातृका यादव र हरिबोल गजुरेल उपमहासचिव हुनुहुन्छ । यीमध्ये शर्मा र पुन सहित गजुरेल पनि नेतृत्व होडमा हुनुहुन्छ ।
नारायणकाजीको दाबी सुनिएको छैन, पार्टी पंक्तिले स्विकार्ने सम्भावना पनि कमै छ । अर्कोतर्फ, हालै पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन पार्टीमा भूमिका सहित फिर्ता हुन खोजिरहेको विषयले दाहाललाई सोचमग्न बनाएको छ । नेत्रविक्रम चन्द नेतृत्वको नेकपासँग माओवादीको सम्भावित एकताको विषय पनि पार्टीको भावी नेतृत्वकै प्रश्नमा रोकिएको बुझ्न गाह्रो छैन ।
शर्माको भनाइ छ, "एकताको प्रक्रिया कतै पुगेको छैन । पार्टीको विचार, पार्टीका पदाधिकारीहरूको भूमिका मिलाउने सन्दर्भ र पार्टीको नाम जस्ता विषयमा एकमत भइसकेको छैन ।"
स्वयं नेत्रविक्रम चन्दले पनि दुई साताअघिको फायरसाइडमै भनेका कुराबाट बुझ्न सकिन्छ, अध्यक्ष दाहालले पार्टीभित्रको दबाब झेल्न नसकेका कारण पार्टी एकता रोकिएको हो । अब पार्टीभित्र हुने नयाँ अन्तर्संघर्षले नेत्रविक्रम चन्द नेतृत्वको पार्टी सहित अन्य दलसँग सुरू गर्ने भनिएको एकता प्रक्रिया, नन्दबहादुर पुनको पार्टीमा फिर्ती जस्ता विषयको भाग्य र भविष्य तय गर्ने छ । स्वयं जनार्दन त्यसमा धेरै हदसम्म निर्णायक हुनुहुनेछ ।
तर सशस्त्र युद्धकालदेखि निरन्तर पार्टी नेतृत्वमा रहेका दाहाल विरुद्धको संघर्ष शर्मा वा अन्य नेताका लागि सहज भने हुने छैन । गाग्राका लागि गाग्रा, अम्खोराका लागि अम्खोराकै स्वरूपमा उत्रिन सक्ने राजनीतिका चालबाज दाहालले शान्तिपूर्ण राजनीतिमा अवतरण गरेपछि परम्परागत दलहरूलाई समेत चक्मा दिने गरिको गतिशीलता प्रदर्शन गर्दै राज्यसत्ताको नेतृत्व भोग गर्ने क्षमता देखाउनुभएको छ ।
यसै पनि शर्माले भन्ने गरेको नेतृत्वको युद्धकालीन कमान्ड शैली दाहालले छोडिसक्नुभएको छैन । सशस्त्र युद्धकालमा बाबुराम भट्टराईमाथि पटक पटकका कारबाही होस् वा अर्का नेता रामबहादुर थापालाई 'लिन प्याओवादी' नेताको आरोपमा गरिएको कारबाहीको अनुभव, खुला राजनीतिमा आएपछि पनि फरक शैलीमा नदेखिएका होइनन् ।
आफ्ना लागि चुनौती बनेको आभास हुने बित्तिकै मोहन वैद्य, बाबुराम भट्टराई र नेत्रविक्रम चन्दहरूलाई सुरूमा पार्टीभित्रै किनारीकृत र अन्तत: पार्टीबाटै बाहिरिने स्थिति निर्माण गर्न सफल चतुर दाहालको 'प्रचण्ड प्रकाश'का सामु 'प्रभाकर' को प्रभा कति उद्दीप्त होला ?
कतै शर्माको धक्का पहरोसँग कुइनो ठोक्काएझैं मात्र हुने होइन ?
हुन पनि जनार्दन शर्मालाई सोधिएको थियो – के अब अध्यक्ष पदमा तपाईं पुष्पकमल दाहालसँग लड्नुहुन्छ ? जवाफमा शर्मा त्यसका लागि अधिवेशन नै कुर्न आग्रह गर्नुहुन्छ ।