गएको महिनाबाट रिलिजमा आएका नेपाली फिल्महरु एकपछि अर्को हाउसफुल भइरेहका छन् । कोरोनाकालपछि नेपाली फिल्मले लगातार यत्तिको दर्शक पाएको यो पहिलो पटक हो भन्न सकिन्छ । त्यसो त पछिल्लो दशकलाई फर्केर हेर्दा शृंखलाबद्ध रुपमा फिल्म हिट भएको इतिहास भेटिँदैन । अहिले देशभरका मल्टिप्लेक्सबाट बलिउडका स्टार कलाकारले भरिएका हिन्दी फिल्मका 'सो' घटाएर नेपाली फिल्मले सो पाइरहेका छन् ।
भलै नेपाली फिल्मले सो पाउन अझै पनि प्रमाणित हुनुपर्ने वाध्यता कायमै रहेको फिल्म निर्माताहरुले गुनासो गरिरहेकै छन् । अहिले नेपाली फिल्मले प्रसस्त सो पाएको हलवालाहरुले विश्वास गरेर नभई दर्शकको जबर्जस्त हस्तक्षेपका कारण हो भन्ने मान्यता अधिकांश चलचित्रकर्मीको छ । जे-जसरी भए पनि नेपाली फिल्ममा यसरी दर्शकको ओइरो लाग्नु आफैंमा सुखद पक्ष हो ।
एक वर्षभित्र बन्ने औसत ८०-९० वटा फिल्मले 'पानी माग्न' नपाएका वर्षहरु पार गरेर यहाँ आइपुगेको नेपाली फिल्म उद्योगका लागि पछिल्लो ६ हप्ता स्वर्णीम समय हो भन्दा फरक पर्दैन । किनकि यसवर्षको दशैंको घटस्थापनामा रिलिज भएको 'बेहुली फ्रम मेघौली'देखि सुरु भएको नेपाली फिल्म चल्ने सिलसिला 'छक्का पञ्जा - ५', '१२ गाउँ', 'ज्वाइँसाब', 'सानो सन्सार' हुँदै 'पूर्णबहादुरको सारंगी'मा आइपुग्दा शिखरतर्फै उक्लिरहेको मान्न सकिन्छ । दर्शकले रुचाएको हिसाबले भन्ने हो भने यी फिल्महरु लगालग हिट भइरेका छन् । यो सिलसिला कति समय रहन्छ, त्यो त भविष्यमा आउने नेपाली फिल्मको प्रदर्शनले देखाउला तर अहिलेलाई यति भन्न सकिन्छ कि- पछिल्लो समय बनिरहेका नेपाली फिल्मले दर्शकलाई तानिरहेका छन् ।
पूर्णबहादुरको सारङ्गीले भरेको धुन
लक्ष्मीपूजाको छेको पारेर रिलिज भएको नेपाली फिल्म पूर्णबहादरको सारङ्गीले सुरुका दिनमा उल्लेख्य सो पाएन, किनकि त्यसबेला रिलिज भएका हिन्दी फिल्म 'सिंघम अगेन' र 'भुलभुलैया-३'लाई नै मल्टिप्लेक्सवालाले विश्वास गरेर धेरै सो दिएका थिए । जब दर्शकले पूर्णबहादुरको सारङ्गी हेरेर फर्किए, त्यसपछि यो फिल्मको चर्चा एकाएक चुलियो । या भनौं दर्शकले नै यो फिल्मको प्रशंसालाई 'एक कान-दुई कान, मैदान' बनाए । सामाजिक सञ्जालमा पूर्णबहादुरको सारङ्गीले छपक्कै छोपेपछि र दर्शकले सो खोज्न थालेपछि बल्ल हलवालाहरुले हिन्दी फिल्मको सो घटाएर धेरैभन्दा धेरै सो पूर्णबहादुरको सारङ्गीलाई दिन थाले । यतिसम्म कि, यो फिल्मले देशभरि एकै दिन ३ सय ८० भन्दा बढी सोसम्म पायो । पूर्णबहादुरको सारङ्गीले किन तान्यो होला त दर्शकलाई यसरी ?
फिल्मको निर्देशक हुन् सरोज पौडेल । यस अघि 'मेन्टल', 'वेलकम टु हेम्जाकोट' नामका दुई फिल्म उनले निर्देशन गरिसकेका छन् । भलै यी फिल्म चर्चा र दर्शकको रुचाइअनुसार सफल भने होइनन् । उनको तेस्रो फिल्म पूर्णबहादरको सारङ्गीको कथा पनि उनैले लेखेका हुन् । झट्ट हेर्दा सामान्य लाग्ने, देखिरहेकै, भोगिरहेकै कथावस्तुलाई २ घण्टा २५ मिनेट लामो फिल्मका रुपमा पर्दामा उतार्नु निर्देशकीय हिम्मत नै मान्न सकिन्छ । एक-दुईवटा दृश्यमा सशक्त विम्बको प्रयोगलाई बिर्सिदिने हो भने फिल्ममा 'वाह' भन्ने कुनै निर्देशकीय प्रयोग देखिँदैन । तर पनि कथामार्फत दर्शकलाई सिटमा बाँधेर राख्न उनी सफल छन् ।
फिल्मको मुख्य पात्र पूर्णबहादुरको भूमिकामा कलाकार विजय बरालको उम्दा अभिनय देख्न पाइन्छ । फिल्मको कथा उनकै वरिपरि घुमेको छ । अढाई घण्टामा पूर्णबहादुरको तिन अवस्था (युवा, वयस्क र प्रौढ) मा उनले आफूलाई निकै मेहेनत गरेर प्रस्तुत गरेका छन् । अल्लारे हुँदा होस् वा दायित्व बोकेको बावु हुँदा होस्, वा बुढ्यौलीले छोएको बृद्ध हुँदा, दर्शकले कहीँ कतै लय फुस्किएको अनुभूति नै गर्न पाउँदैनन् ।
पूर्णबहादर हाँस्दा दर्शक हास्ने र पूर्णबहादर रुँदा दर्शक रुने हुनु फिल्मको पात्र र हलको सिटमा बसेको दर्शकबीच हुने इमोनसलन रिलेसनको उच्चतम् विन्दु हो भन्न सकिन्छ । अरु भूमिकामा पूर्णबहादुरकी श्रीमती बाटुली बनेकी अञ्जना बराइली, सानो छोराको भूमिकामा स्वयम् केसी, त्यही छोरा ठूलो भएपछिको भूमिकामा प्रकाश सपूत, साथीको भूमिकामा मुकुन भुसाल, बुद्धि तामाङसँगै भोलाराज सापकोटा, देशभक्त खनाल, शंकर आचार्य आदि कलाकारको अभिनय देख्न पाइन्छ ।
जसमध्ये बाल कलाकार स्वयम् केसी, अञ्जना बराइली र मुकुन भुसालले आफ्नो भूमिकालाई सशक्त रुपमा प्रस्तुत गरेको देखिन्छ । फिल्मभर ब्याकग्राउन्ड म्युजिक निकै नै 'लाउड' सुनिन्छ भने केही ठाउँमा एडिटिङको सिलसिला भत्किएको छ । शिवराम श्रेष्ठको छायांकन रहेको फिल्मका केही दृश्यमा प्रयोग गरिएका लाइट र सटसाइजहरु भने उकृष्ट छन् ।
फिल्मको कथाले २०३८-३९ सालपछिको परिवेशको कल्पना गरेको छ । जातीय विभेदले भरिएको समाज, जहाँ शिक्षा, स्वास्थ्यमा कथित उपल्लो जातको अधिपत्य छ । र, एउटा दलनमा बाँच्न विवश गन्धर्व परिवार छ । जहाँ पुस्तौनि पेशाको नाममा बाजेबाट बाबु र बाबुबाट छोरामा माग्ने काम, एउटा सारङ्गी र भाका हस्तान्तरण हुन्छ ।
जब यो परिवारमा एउटा विद्रोह चेत बोकेकी पात्र, बाटुलीको प्रवेश हुन्छ कथाले एउटा नियमिततालाई भत्काएर अघि बढ्छ । छोरालाई सारङ्गी बजाएर माग्ने बनाउन नचाहने बाटुली र पुर्ख्यौली पेशा अपनाउनुपर्छ भन्ने सोचभन्दा बाहिर निस्कन नसकेको पूर्णबहादुरबीचको अन्तर्द्वन्द्वबाटै कथा अघि बढ्दै जान्छ । फिल्मको नाम पूर्णबहादुरको सारङ्गी भएर पनि होला, शिक्षित हुनुपर्छ, आफूलाई फेर्दै जानुपर्छ, हेपिएर-दबिएर बाँच्नु हुँदैन भन्ने चेतना दिने बाटुलीको योगदानलाई निर्देशकले बिर्सिदिएका छन् । कथाले यसरी मोड लिन्छ, छोरालाई पढाउन पूर्णबहादुरले गरेको संघर्षमा बहकिँदै जाँदा दर्शकले अन्त्यसम्म पुग्दै गर्दा बाटुलीलाई समेत बिर्सिसक्छन् । जबकि, बाटुलीकै विद्रोहको झिल्कोकै परिणामस्वरुप पूर्णबहादुर अन्ततः छोरालाई पढाउने दृढ संकल्पमा अघि बढेको छ ।
मध्यान्तर अघिसम्म बेसुर लागेको फिल्म मध्यान्तरपछि भने एकसुरे हुँदै जान्छ । मध्यान्तरपछिको भाग पूर्णरुपमा गरिबी र विभेदले किचिएको एउटा बाबुले आफ्नो सन्तानको शिक्षाका लागि गरेको अठोट, दुःख, संघर्ष र मायामै केन्द्रित छ । दर्शकहरुसँग मेल खाने भावना भएर होला हल भित्र, साँक्कसुँक्क धेरै सुनिन्छ । समग्रमा भन्दा पूर्णबहादरको सारङ्गी समाज, विद्रोह, अठोट, वियोग मिसिएको सारङ्गीको त्यही चार तार हो भन्दा फरक नपर्ला ।
अहिले सामाजिक सञ्जालमा पूर्णबहादुरको सारङ्गी हेरेर दर्शक रोएको फोटो, भिडियो भाइरल भइरहेका छन् । चिया पसलमा 'रुञ्चे फिल्म'को उपमा पनि पाइरहेको छ । कथा र चरित्रले दर्शकलाई रुने, हास्ने, उत्तेजित हुने, उद्वेलित हुने अवस्था सिर्जना गर्न सक्नु एउटा फिल्मका रुपमा सफलताको मानक पनि हो । दोस्रो हप्तामा प्रवेश गर्दैगर्दा पूर्णबहादुरको सारङ्गी हेर्न दर्शकको ओइरो यस्तो छ कि, अब त यो फिल्म नहेर्ने 'सोसाइटीमै परिन्न कि' भन्ने होला जस्तो अवस्था छ । पछिल्ला केही फिल्मले गर्दा 'नेपाली फिल्मलाई माया गरौं' भनेर रोइलो गर्ने र गनगन गरेर नथाक्ने निर्देशक/निर्माता/कलाकारहरुले पनि बुझे होलान् कि, हाम्रै समाजभित्रका कथालाई राम्रोसँग प्रस्तुत गर्नसके रोइकरोइ गरेर दर्शक डाक्नु नपर्ने रहेछ भनेर !