पाल्पा । भोटेकोशी बाढी प्रभावित रसुवाका बस्तीहरूमा आउनैलागेका चाडपर्वको कुनै उत्साह छैन । भदौ १० गतेको विपत्तिले खोसेका आफन्तको सम्झनाले त्यहाँका घरआँगन सुनसान छन् । कसैको परिवारका सदस्य गुमेका छन्, कसैका आफन्त अझै बेपत्ता छन् । धेरैले घरबास, जायजेथा र जीविकोपार्जनको आधारसमेत गुमाएका छन् ।
भौगोलिक विकटताका कारण सडक पहुँचसमेत सहज नभएका रसुवामा बाढीको पीडा गहिरो छ । उद्धार, राहत र पुनःस्थापनाको पर्खाइमा रहेका परिवारका लागि दशैंको टीका र तिहारको दीपावलीभन्दा हराएका आफन्तको सम्झना ठूलो बनेको छ । बाढीले केवल भौतिक संरचना मात्रै बगाएको छैन, सयौं परिवारको खुसी र भविष्यसमेत प्रभावित बनाएको छ । नजिकिएका चाडपर्वको रौनकबाट टाढा, शोकमा डुबेको रसुवाले अहिले पनि आफ्ना हराएका आफन्तको खोजी र सुरक्षित पुनःस्थापनाको आशा गरिरहेको छ ।
भदौ १० गतेको विपत्तिपछि रसुवाका धेरै बस्तीको जनजीवन अझै सामान्य बन्न सकेको छैन । सडक र यातायात अवरुद्ध हुँदा दैनिक उपभोग्य सामान ल्याउनसमेत समस्या छ । बाढीले धेरैको घर, आफन्त, गरिखाने जग्गा सबै बगाएको छ । घर गुमाएका २४८ परिवार अझै होल्डिङ सेन्टरमा छन् । अस्थायी बसोबासको टुङ्गो नलाग्दा उनीहरूलाई चाडपर्व मनाउनेभन्दा दैनिक गुजारा चलाउनै चिन्ता ठूलो छ ।
लामो समय भइसक्दा पनि बस्ने स्थायी व्यवस्था हुन सकेको छैन । सरकारले छिटो बस्ने व्यवस्था गरिदिनुपर्ने उनीहरूको गुनासो छ । बाढीले बालबालिकाको पढाइसमेत प्रभावित भएको छ । विद्यालय भवन क्षतिग्रस्त भएपछि नियमित पठनपाठनमा समस्या छ । बाढी प्रभावित परिवारले सरकारले तत्काल सुरक्षित आवास, सडक, विद्यालय र आवश्यक पूर्वाधारको व्यवस्था गरी जनजीवन सामान्य बनाउन माग गर्दैआएका छन् ।
रसुवाका उत्तरगया, कालिका, गोसाइँकुण्ड, नौकुण्ड, आमा छेदिङ्गो गरी सबै पालिकामा क्षति पुगेको छ । उत्तरगया, कालिका, नौकुण्ड र गोसाइँकुण्डका खाल्टे, मैलुङ, सातबिसे, पैरेवेँसी, सल्लेटार, गोगने, तीरुलगायतका स्थानमा बढी क्षति पुगेको छ । यस्तै चिप्लेटी, किस्पाङ्, टिमुरे, नयाँपुल, रसुवागढी, माझगाउँ, कर्मीडाँडा, ठूलोगाउँ, डाँडागाउँ, सल्लेटारलगायतमा बढी क्षति पुगेको छ । पछिल्लो विवरणअनुसार बाढीमा ज्यान गुमाएका रसुवाका २ सय ३६ जनाको शव फेला परेको छ, १ हजार ४ सयभन्दा धेरै बेपत्ता छन् । रसुवामा १ हजार ७ सय ७९ वटा घरहरूमा पूर्ण वा आंशिक रूपमा क्षति भएको छ । १ हजार ९ सय २३ घरधुरी प्रत्यक्ष प्रभावित भएका छन् ।