बाढीपीडितलाई देश विदेशबाट कसरी सहयोग गर्ने ? यी हुन् पाँच उपाय

भाद्र १२, २०८३ |प्रकाश बम
बाढीपीडितलाई देश विदेशबाट कसरी सहयोग गर्ने ? यी हुन् पाँच उपाय

काठमाडौं । भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीका कारण ठूलो मानवीय तथा भौतिक क्षति भएपछि सरकारले राहत तथा उद्धारका लागि सहयोग जुटाउन अपिल गरेको छ । 

तर, देश विदेशबाट व्यक्ति तथा संस्थाले कसरी रकम सहयोग गर्न सक्छन् त ? 

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्न आठवटा बैंक खाता सार्वजनिक गरिएको छ । राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक लिमिटेड, ग्लोबल आईएमई बैंक, एभरेस्ट बैंक लिमिटेड, नबिल बैंक, स्ट्यान्डर्ड चार्डर्ड बैंक, कृषि विकास बैंक र हिमालयन बैंकको डलर खातामा सहयोग गर्न सकिन्छ ।

यस्तै, प्रधानमन्त्री राहत कोषका लागि राष्ट्रिय वाणिज्य बैंकका दुई छुट्टै खाता सार्वजनिक गरिएको छ । यी दुवै कोषमा नेपालका जुनसुकै स्थानबाट सीधै क्यूआर कोडमार्फत पैसा हाल्न सकिन्छ । बैंक खातामा अनलाइन वा बैंकमै पुगेर पनि रकम जम्मा गर्न सक्नुहुनेछ ।

विदेशमा रहेका व्यक्तिहरू भने ५ तरिकाले सहयोग गर्न सक्छन् । पहिलो हो, कार्ड पेमेन्ट गेटवेमार्फत । यसमा pmrdf.nchl.com.np र pmrreliefund.himalayanbank.com को लिंक प्रयोग गरी वा क्यूआरमार्फत सहयोग गर्न सकिनेछ ।

दोस्रो, अलिपे+ सँग अन्तरसञ्चालन भएका १२ वटा वालेट तथा युनिफाइड पेमेन्ट इन्टरफेस (यूपीआई)मा लिंक भएका फोनपे, नेपालपे र स्मार्ट क्यूआरबाट पैसा पठाउन सकिन्छ । तेस्रो चाहिँ भारतका UPI प्रयोगकर्ताहरूले UPI-सक्षम भारतीय बैंकका एपमा उपलब्ध क्रस बोर्डर पीटुपी फन्ड ट्रान्सफर प्रयोग गरी कोषका खातामा रकम पठाउन सक्छन् ।

चौथो उपाय स्विफ्टमार्फत रकम स्थानान्तरण हो । विदेशमा रहेका व्यक्तिहरूले बैंकमा गई वा आफ्नो इन्टरनेट बैंकिङ प्रणालीमार्फत उपलब्ध फन्ड ट्रान्सफर विकल्प प्रयोग गरी स्विफ्टबाट प्रधानमन्त्री राहत कोषका खातामा रकम पठाउन सक्छन्।

र, पाँचौँ उपाय हो- रेमिट्यान्स च्यानलको प्रयोग । जीएमई, रेमिट्ली, वाइज, ट्याप ट्याप सेन्ड लगायतका एप वा घरेलु रेमिट्यान्स कम्पनीका साझेदारहरू प्रयोग गरी पैसा पठाउन सकिने व्यवस्था छ ।

अहिले दैवी प्रकोप उद्धार कोषमा २ अर्ब ५ करोड रुपैयाँ सुरक्षित रहेको प्रधानमन्त्री कार्यालयका प्रवक्ता हेमराज अर्यालले बताउनुभएको छ ।


Image

प्रकाश बम

बम कान्तिपुर टेलिभिजनका संवाददाता हुन् ।