काठमाडौं । भोटेकोशीमा अचानक आएको भीषण बाढीले रसुवा, धादिङ र नुवाकोटमा ठूलो भौतिक तथा मानवीय विनाश निम्त्यायो ।
तर, यो बाढी मनसुनमा आउनेजस्तो सामान्य थिएन । यसको तीव्र गति, अस्वाभाविक रुपमा मिसिएका लेदो र विशाल चट्टानहरुले यो बाढी सामान्य थिएन भन्ने देखाउँछ। वैज्ञानिकहरुले उच्च हिमाली क्षेत्रमा हिउँ र चट्टानको पहिरोका कारण यो बाढी आएको हो कि भन्नेबारे अनुसन्धान गरिरहेका छन् ।
आखिर कसरी आयो त भोटेकोशीमा यति विनाशकारी बाढी ?
बाढी पूर्वानुमान महाशाखाले बुधबार बिहान ८ बजे बुलेटिन जारी गर्दै त्रिशुली र बेत्रावती नदीको जलसतह उल्लेख्य बढ्ने अनुमान गर्यो । यसका साथै दोलखा, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, धादिङ, गोरखा, लमजुङ र तनहुँ आसपासका जिल्ला भइ बहने नदीहरुमा बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको उच्च जोखिमको सम्भावना रहेको जनायो । तर, मौसम उस्तो बिग्रिएको थिएन, मानिसहरुको दैनिकी सामान्य नै थियो ।
भोटेकोशी र त्रिशुली आसपासका बासिन्दा सम्भावित विपत्तिप्रति केहीअघिसम्म बेखबर थिए । अचानक भोटेकोशीमा आएको विनाशकारी बाढीले छोटो समयकै अन्तरालमा रसुवामा मात्रै नभइ नुवाकोट हुँदै धादिङसम्मै ठूलो मानवीय तथा भौतिक क्षति गर्यो ।
बाढी मनसुनमा आउनेजस्तो सामान्य थिएन । गति तीव्र थियो, पानीको छाल विशाल थियो भने अस्वाभाविक रुपमा लेदो र विशाल चट्टान मिसिएका थिए । भूगर्भविद् रञ्जनकुमार दाहाल लाङटाङ हिमालको उत्तरतिरको हिमनदी चट्टानसहित ल्हेन्दे खोलामा खस्दा एक्कासी ठूलो बाढी आएको अनुमान गर्नुहुन्छ ।
अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र- इसिमोडका अनुसन्धानकर्ताहरु पनि उच्च हिमाली क्षेत्रमा हिउँ र चट्टानको पहिरोका कारण बाढी आएको हो कि भनेर अनुसन्धान गरिरहेका छन् । प्रारम्भिक अध्ययनले भोटेकोशीको सहायक नदी ल्हेन्दे खोलामा ठूलो मात्रामा हिउँ र चट्टानसहितको लेदो मिसिएको हुन सक्ने देखाएको र सोही कारण अचानक ठूलो बहाव सिर्जना भएको विज्ञहरुको भनाइ छ ।
चिनियाँ क्षेत्रमा गएको भूकम्पका कारण पनि हिमपहिरो गएको पनि अनुमान गरिएका छन् । परराष्ट्रमन्त्री शिशिर खनालले बुधबारको प्रतिनिधि सभा बैठकमा प्रारम्भिक सूचना भन्दै हिमपहिरो गएको र त्यसका कारण बाढी आएको बताउनुभएको थियो ।
चिनियाँ दूतावासले पनि सामाजिक सञ्जालमार्फत भूकम्प अथवा भूकम्पजस्तै हिमनदीका कारण नेपालतर्फ बाढी आएको जनाएको थियो । तर, हालसम्म भूकम्पीय गतिविधि र बाढीबीच कुनै प्रत्यक्ष सम्बन्ध पुष्टि भएको छैन । भूगर्भविद्हरु तिब्बतमा गएको भूकम्प र बाढीको तुलना अध्ययनको विषय भएको बताउँछन् ।
इसिमोडले सन् २०२० मा गरेको अध्ययनले नेपाल, चीन र भारत गरी ४७ वटा हिमताल उच्च जोखिमयुक्त रहेको देखाएको थियो । जसमध्ये नेपालका २१ वटा, चीनका २५ र भारतको एउटा हिमताल उच्च जोखिमयुक्त पाइएको थियो । उच्च हिमाली भेगमा रहेका हिमतालको अवस्थितिबारे बेला-बेलामा निगरानी गर्ने पनि गरिएको छ ।
जस्तो कि सबैभन्दा जोखिमयुक्त मानिएको सोलुखुम्बुको इम्जालगायतका हिमतालमा भएका परिवर्तनलाई नजिकबाट नियाल्ने गरिएको छ । तर, लाङटाङ क्षेत्रका हिमताल विज्ञ तथा सरकारी निकायको नजरमा पर्न सकेका छैनन् । न त यसबारे निगरानी गर्ने सरकारी संयन्त्र नै छ ।
भोटेकोशीको बाढीले ठूलो विनाश निम्त्याएको छ । तर, जोखिम अझै टरिसकेको छैन ।