मधेशमा ट्रान्सफर्मर चोरी बढ्दा किसान सिँचाइबाट वञ्चित

श्रावण १५, २०८३ |अमरकान्त ठाकुर
मधेशमा ट्रान्सफर्मर चोरी बढ्दा किसान सिँचाइबाट वञ्चित

धनुषा । मधेश प्रदेशमा केही वर्ष यता ट्रान्सफर्मर चोरीको घटना बढदै गएको छ । 

डिप बोरिङ्ग सञ्चालन गर्न गाँउ गाँउमा जडान गरिएको ट्रान्सफर्मर चोरी हुने क्रम बढदै गएपछि किसानहरु सिँचाई सुविधावाट वञ्चित भएका छन् । रातिको समयमा सुनयोजित रुपमा हुने गरेको ट्रान्सफर्मर चोरीको घटनाले सुरक्षा चुनौती बढेको छ ।

महोत्तरीको एकरहिया गाँउमा विद्युतिकरणको लागि हालै जडान गरिएको ट्रान्सफर्मर चोरी भएको भोलिपल्ट नै धनुषाको बिसपिट्टी गाँउमा पनि ट्रान्सफर्मर चोरीका घटना घटे । बिसपिट्टीमा सिँचाइको लागि डिप बोरिङ्ग सञ्चालन गर्न दोस्रो पटक जडान गरिएको ट्रान्सफर्मर चोरी भयो । यस गाँउमा दुई वर्षभित्र तीनवटा ट्रान्सफर्मर चोरी भएको छ । त्यसैगरी एक वर्षभित्र एकरहिया गाँउमा पनि तीनवटा ट्रान्सफरमर चोरीका घटना घटेको छ ।

धनुषा, महोत्तरी, सिरहालगायतका जिल्लामा एक महिनाभित्र आठवटा भन्दा बढी ट्रान्सफरमर चोरीका घटना सार्वजनिक भएको छ । सिँचाइ सुविधा नभएको क्षेत्रमा किसानहरुको लागि डिप बोरिङ्ग बरदान सावित भएको छ । तर, ट्रान्सफर्मर चोरी भएपछि पानी दिन बन्द भएको छ । 

ट्रान्सफर्मर चोरीका कारण सिँचाइ सुविधावाट वञ्चित भएका किसानहरु पीडामा छन् भने डिप बोरिङ्ग बन्द भएपछि धान खेतमा धाजा फट्न थालेको छ । नहर, कुलोलगायतका सिँचाइ सुविधावाट वञ्चित किसानहरुको लागि संघ र प्रदेश सरकारले भूमिगत जलस्रोत सिँचाइअन्तर्गत डिप बोरिङ्ग जडान गरेर खेत–खेतमा सिँचाइ सुविधा दिने गरेको छ । 

पाँच लाख बराबरको ५० केभीको एउटा ट्रान्सफर्मर जडान गरेर लगभग एक करोडको लागतमा डिप बोरिङ्ग सञ्चालन हुने गर्दछ । तर, ५०/६० हजारको लोभमा ट्रान्सफर्मर भित्र रहेको तामाको तार चोरेर ती डिप बोरिङ्गलाई चोरले बेकामे बनाउने गरेको छ ।

मधेश प्रदेश प्रहरी कार्यालयको तथ्यांकअनुसार आर्थिक वर्ष २०८२/०८३ मा ट्रान्सफर्मर चोरीको ६३ वटा घटना भएको छ । मुद्दा दर्ता भने २२ वटा मात्र भएको छ । ट्रान्सफर्मर चोरीको घटनामा संलग्न एक जना व्यापारीसहित १९ जना पक्राउ परेको छ । 

महोत्तरीमा सबैभन्दा बढी २८ वटा ट्रान्सफरमर चोरीको घटना भए पनि एक जना पनि पक्राउ परेका छैनन् । संगठित रुपमै हुने गरेको ट्रान्सफरार चोरीको घटनाले सुरक्षा चुनौती बढाएको छ । गाँउबाहिर सुनसान स्थानमा जडान गरिएको ट्रान्सफर्मर कुलतमा फसेका युवाहरु चोर्ने गरेको पाइएको छ । 

एउटै गिरोहमा संलग्न व्यक्तिहरु भारतीय नम्बर प्लेटको गाडीसमेत प्रयोग गर्ने गरेको स्थानीयको भनाइ छ ।


Image

अमरकान्त ठाकुर

ठाकुर कान्तिपुर टेलिभिजनका धनुषा संवाददाता हुन् ।