सार्वजनिक सवारीमा डराई डराई चढ्छन् महिला, ब्लु बस समाधान बन्ला कि लोकप्रिय नारा मात्र ?

असार २७, २०८३ |विकास आचार्य
सार्वजनिक सवारीमा डराई डराई चढ्छन् महिला, ब्लु बस समाधान बन्ला कि लोकप्रिय नारा मात्र ?

काठमाडौं । सार्वजनिक यातायातमा महिलाहरूले भोग्ने कष्ट, दुर्व्यवहार र हिंसा भनिसाध्य छैन । 

हाम्रा दिदीबहिनी, आमासानिमा धेरैले सार्वजनिक यातायातमा भोग्नुपरेको यौनहिंसा कहिले प्रतिवाद गर्छन् त कहिले निरीह भएर सहन्छन् । यो समाजको खुला तर तीतो यथार्थ हो । प्राप्त तथ्याङ्क र प्रवृत्ति हेर्ने हो भने पनि हाम्रो सार्वजनिक यातायात महिलाका लागि पूर्णतः सुरक्षित देखिँदैनन् । 

यही समस्यालाई कम गर्न भन्दै सरकारले महिलाहरूका लागि छुट्टै सेवा दिन ब्लु बस सञ्चालनमा ल्याउने तयारी गरिरहेको छ । साउनबाट नमुना परीक्षणका रूपमा ४ रुटमा ८ वटा ब्लु बस चलाउन सकिने गरी छलफल पनि भइरहेको छ । तर, ब्लु बसको खाँचोबारे हामीले सोध्दा अधिकांश महिला यात्रु भन्छन्- महिलालाई छुट्टै बस होइन, भएकै सार्वजनिक यातायातलाई सुरक्षित बनाऊ ।

सार्वजनिक यातायात चढेरै घर–कार्यालय आउजाउ गर्ने काठमाडौँ थानकोटकी एक युवतीले दुई दिनअघि फेसबुकमा लेख्नुभयो – केटी भएकै कारण जहिल्यै डरमा बाँचिरहेकी हुन्छु । आज के हुन्छ र कसले के गर्छ भन्ने चिन्ता सधैँ मनमा रहिरहन्छ ।

युवतीका अनुसार केही दिनअघि मात्र साँझ घर फर्किने बेला खचाखच भरिएको बसमा एक व्यक्तिले उहाँलाई यौन दुर्व्यवहार गरेका थिए । उहाँले ठाउँको ठाउँ ती व्यक्तिलाई ‘तेरो घरमा दिदीबहिनी छैनन्’ भन्दै प्रतिवाद त गर्नुभयो, तर भीडभाड भएको बसमा पनि उहाँको पीडा कसैले सुनेन । वरपरका यात्रुहरूको मौनता देखेर उहाँ निरीह भई अन्यत्र गई बस्नुभयो ।

तर, यो पीडा उहाँको भोगेको पहिलोपटक थिएन । उहाँले लेख्नुभएको छ- यो परिस्थिति धेरैपटक भोगिसकेकी छु । अझै कति भोग्नुपर्ने हो ? तर यहाँ कसलाई के मतलब ! ती युवतीजस्तै समस्या दिनमा सयौँले भोगिरहेका छन् । केहीले प्रतिवाद गरेर कानुनी बाटो समाए पनि धेरैले ती युवतीजस्तै सहेर बस्न बाध्य छन् ।

हाम्रा सार्वजनिक यातायात महिलामैत्री छैनन् भन्ने प्रमाण प्रहरीले उपलब्ध गराएको तथ्यांकले पनि दिन्छ । २०८१ सालको साउनदेखि ८२ सालको असार मसान्तसम्म काठमाडौँ उपत्यकाका सार्वजनिक स्थल तथा सार्वजनिक यातायातमा महिलालाई अश्लील हर्कत गर्ने, शारीरिक यौनजन्य दुर्व्यवहार गर्ने, अपशब्द बोल्ने तथा अन्य दुर्व्यवहार गर्ने आरोपमा ४ हजार १ सय ३३ जना पक्राउ परेका थिए । 

तीमध्ये १ सय ९९ जनाविरुद्ध मुद्दा चलाइयो । यस्तै ८२ सालको साउनदेखि जेठ मसान्तसम्म यस्ता गतिविधिमा संलग्न रहेको आरोपमा १ हजार ९ सय ३६ जनालाई प्रहरीले पक्राउ गरिसकेको छ । यीमध्ये ७६ जनाविरुद्ध मुद्दा चलाइएको छ ।

काठमाडौँबाहेक देशका अन्य क्षेत्रमा गत साउनदेखि जेठसम्ममा सार्वजनिक स्थल र सार्वजनिक यातायातमा महिला र बालबालिकालाई यौनजन्य हिंसा गरेको आरोपमा ११ जना पक्राउ परिसकेका छन् । सरकारले अहिले नमुना परीक्षणका लागि सञ्चालन गर्न खोजेको ब्लु बस सेवामा यिनै तथ्यांकलाई ध्यानमा राखिएको अधिकारीहरूको भनाइ छ ।

तर, के महिलाहरूका लागि छुट्टै र निःशुल्क यात्रा गर्न पाउने ब्लु बस सार्वजनिक यातायातमा महिलाहरूले भोग्ने हिंसाको समाधान हो त ? यातायात क्षेत्रका जानकार यसलाई दिगो समाधान त मान्दैनन् नै उल्टो सरकारको स्विकारोक्तिले अन्तर्राष्ट्रिय स्तरमा महिलाका लागि नेपाल असुरक्षित भन्ने अर्थ लाग्ने बताउँछन् ।

हामीले केही महिला यात्रुलाई पनि सोध्यौँ- ब्लु बसबारे तपाईँको धारणा के छ ? केहीले सुविधा हुने भने पनि अधिकांश भन्छन्- बरु शुल्क लिएरै चढिने बसमा महिलाहरू जुनसकै समयमा यात्रा गरे पनि यौनजन्य हिंसा नहुने वातावरण सरकारले बनाइदिए पुग्छ ।

सरकारले सञ्चालनमा ल्याउन लागेको ब्लु बसका लागि ४ करोड ५० लाख बजेटसमेत विनियोजन गरेको छ । पहिलो चरणमा साझा यातायातसँगको सहकार्यमा बूढानीलकण्ठ–लगनखेल–गोदावरी रुटमा दुईवटा, नागढुंगा–विमानस्थल रुटमा दुईवटा तथा चक्रपथमा चारवटा बस सञ्चालन गर्ने तयारी छ ।

सरकारको यो कदम सकारात्मक पहल हो । यसमा सन्देह छैन । तर, ब्लु बसमा ठाउँ नपाउने महिलाहरूले चाहिँ कहिलेसम्म असुरक्षित यात्रा गर्ने ? बरु समग्र सार्वजनिक यातायात नै ब्लु बसको अवधारणामा प्रविधिमैत्री र हिंसामुक्त हुने सुनिश्चित गर्न आवश्यक छ ।


Image

विकास आचार्य

आचार्य कान्तिपुर टेलिभिजनका काठमाडौंस्थित संवाददाता हुन् ।