
झापा । झापा क्षेत्र नम्बर-५ बाट निर्वाचित भएर प्रधानमन्त्री बन्नुभएका वालेन्द्र शाहले पद सम्हालेको भर्खरै एक सय दिन पूरा भएको छ ।
तर, हालसम्म उहाँ आफ्नो निर्वाचन क्षेत्रमा नआएको भन्दै स्थानीयबासीले असन्तुष्टि जनाएका छन् । झापामा अधुरा आयोजना, किसानका समस्या र बजेट कटौतीको विषय उठाउँदै स्थानीयले प्रधानमन्त्रीले आफ्नो निर्वाचन क्षेत्रलाई बेवास्ता गरेको आरोप लगाएका छन् ।
झापा क्षेत्र नम्बर-५ बाट निर्वाचित भएर फागुन २१ गते प्रधानमन्त्री बन्नुभएका वालेन्द्र शाहले पद सम्हालेको एक सय दिन नाघिसक्दा पनि आफ्नो निर्वाचन क्षेत्र झापा आउनुभएको छैन प्रधानमन्त्री बनेयता वालेन्द्र शाह अन्य जिल्लामा पुगे पनि आफूलाई निर्वाचित गराएको क्षेत्रमा नआएको भन्दै स्थानीयबासी असन्तुष्ट बनेका छन् ।
यस्तै, चालु आर्थिक वर्षको तुलनामा झापाको बजेट कटौती भएकोमा समेत यहाँका स्थानीय असन्तुष्ट छन् । प्रधानमन्त्री बनेपछि आफ्ना क्षेत्रका मतदाताको समस्या बिर्सिएको हो कि भन्ने उनीहरुलाई लागेको छ ।
झापामा वर्षौंदेखि समाधान हुन नसकेका धेरै समस्याहरु छन् । सुकुम्वासी समस्या, दमक बिजनेस कम्प्लेक्स अर्थात् भ्यु टावरको सञ्चालनबारको अन्याेल, अधुरो रंगशाला, मल अभावलगायतका विषयमा प्रधानमन्त्रीले चाल्ने कदम के हुन्छ भन्ने उत्सुकता यहाँका स्थानीयमा छ ।
झापा क्षेत्र नम्बर-५ पटक-पटक देशलाई प्रधानमन्त्री दिएको इतिहास बोकेको क्षेत्र हो । उनीहरू भन्छन्, “निर्वाचनका बेला जनतामाझ पुग्ने तर निर्वाचित भएपछि बिर्सिने प्रवृत्ति अन्त्य हुनुपर्छ । जनताका समस्या सुन्न र समाधान गर्न प्रधानमन्त्री झापा आउनुपर्छ ।”
सुजन गौतमको रिपोर्ट