पहेंलो वस्त्रभित्रको असाधारण व्यक्तित्व : अनिलमान शाक्य

श्रावण ३, २०८३ |मनोज पौडेल
पहेंलो वस्त्रभित्रको असाधारण व्यक्तित्व : अनिलमान शाक्य

रुपन्देही । पहेंलो वस्त्रमा देख्दा सबैले उनलाई सामान्य भिक्षु ठान्छन् । 

तर, अनिलमान शाक्यको परिचय यत्तिमात्रै होइन । उहाँ कारागारदेखि विश्वविख्यात बेलायतको अक्सफोर्ड र अमेरिकाको स्यान्टा क्लारा विश्वविद्यालयमा भिजिटिङ प्रोफेसर बनेर पढाउनुहुन्छ । थाइल्यान्डलाई कर्मथलो बनाएका नेपाली मूलका शाक्य थेरवादी बुद्ध धर्मका विश्वविख्यात लेखक, व्याख्याता र अन्वेषक हुनुहुन्छ ।

अनिलमान शाक्यले एक महिनाअघि थाइल्यान्डको उच्च तहको पदक साओ सेमा धर्मचक्र प्राप्त गर्नुभयो । १४ वर्षमा श्रामनेर भिक्षु बनेर १५ वर्षको हुँदा थाइल्यान्ड गएका शाक्य निरन्तरको संघर्ष, मिहिनेत र अध्ययनले अहिले थाई संघको उच्च तहमा पुग्ने पहिलो विदेशी बन्न सफल हुनुभएको छ । 

थाइल्यान्डमा ४० हजारभन्दा धेरै बिहार छन् । त्यसलाई कानुनी दायरामा ल्याउने र नियमन गर्ने काम संघले गर्छ । भिक्षु संघको सचिवालयमा ४ वर्ष काम गरेपछि उहाँ अहिले त्यसकाे सल्लाहकार बन्नुभएको छ । ५१ वर्षदेखि थाइल्यान्ड बसिरहेका ६६ वर्षे शाक्य बैंककमा रहेको थाई राजप्रासादसँग नजिक मानिएको शाही बिहारमा लामो समय सहायक सचिव हुनुहुन्थ्यो । 

बिहारमै रहेको महामुकुट विश्वविद्यालयबाट उहाँले स्नातक उत्तीर्ण गर्नुभयो । तत्कालीन थाई नरेश भुमिबोल अदुल्यादेजबाट पूर्णछात्रवृत्ति पाएर उच्चशिक्षा अध्ययन गर्न बेलायतको क्याम्ब्रिज विश्वविद्यालय जानुभयो । बेलायतकै ब्रुनेल विश्वविद्यालयबाट सोसल एन्थ्रोपोलोजीमा विद्यावारिधी गर्नुभयो ।

थाइल्यान्डको महामुकुट विश्वविद्यालयको डेपुटी रेक्टर र वर्ल्ड बुद्धिष्ट युनिभर्सिटीको रेक्टर भएरसमेत शाक्यले काम गरिसक्नुभएको छ । अवकासपछि उहाँलाई थाई भिक्षु संघको सचिवालयमा प्रशासनिक काम गर्ने जिम्मा तोकिएको छ । उहाँले थाइल्यान्डका प्रसिद्ध चुलालोङकोन र महिदोल विश्वविद्यालयमा अध्यापन गराउनुभयो भने अमेरिकाको स्यान्टा क्लारा र क्यालिफोर्निया विश्वविद्यालय तथा बेलायतको अक्सफोर्ड विश्वविद्यालयमा भिजिटिङ प्रोफेसरका पढाउन पुग्नुहुन्छ ।

शाक्य एक महिनाअघि दिवंगत ४७ वर्षे थाई युवराज्ञी बज्रकितियाभाको अपराध रोकथाम, जेलका कैदीबन्दी सुधार र जीवनयापन सहज बनाउने परियोजनाका प्रमुख सहयोगी हुनुहुन्छ । युवराज्ञी बज्रकितियाभाको आग्रहमा कैदीबन्दीका लागि उहाँले कग्नेटिभ ट्रान्सफरमेसन थेरापी विकास गर्नुभयो । 

उहाँले मृत्युदण्ड पाएका, क्रुर र जघन्य अपराध गरेका कैदीबन्दीलाई समेत परामर्श दिनुहुन्छ । भिक्षु नाम सुगन्ध भएका शाक्यले थाई संघको निर्यायक तहमा पहुाच बनाउनु ज्ञान, इमान्दारी र मिहिनेतले सम्भव भएको हो ।


Image

मनोज पौडेल

पौडेल कान्तिपुर टीभीका कपिलवस्तु संवाददाता हुन् ।