देवेन्द्रराज पाण्डे : लोकतन्त्रका एक युगको पूर्णविराम

श्रावण २, २०८३ |नारायण किलम्बू
देवेन्द्रराज पाण्डे : लोकतन्त्रका एक युगको पूर्णविराम

काठमाडौं । ८७ वर्षको उमेरमा पूर्वअर्थमन्त्री तथा नागरिक अगुवा देवेन्द्रराज पाण्डेले शुक्रबार अन्तिम सास फेर्नुभयो । पाण्डेको शवलाई आज दिउँसो पशुपतिस्थित आर्यघाटमा अन्त्येष्टि गरिसकिएको छ । 

लोकतान्त्रिक आन्दोलनमा ४ दशकभन्दा बढी समय खर्चनुभएका पाण्डेको अनुभव, संघर्ष र विरासत कस्तो थियो ? नागरिकमैत्री शासनका अविराम अभियन्ता पाण्डेमा समर्पित यो स्मृति लेख ।

नागरिक आन्दोलनको जिम्मेवारीबाट सधैँका लागि बिदा हुनुभन्दा डेढ महिनाअघि देवेन्द्रराज पाण्डेले लेख्नुभएको थियो- बालेन सरकारको सफलता वा असफलता देख्न भोग्न पाउँदिनँ । तर, यिनीहरू मुलुकका निम्ति सफल हुन सकून् ।

पाण्डे सही हुनुहुन्थ्यो, बालेन सरकारको मार्कसिट उहाँले देख्न पाउनुभएन । शुक्रबार साँझ करिब पौने ८ बजे आफ्नो ८७ वर्षे अनुभव, संघर्ष र विरासतलाई उहाँले पूर्णविराम लगाउनुभयो । ‘नेपालको लोकतान्त्रिक आन्दोलनको पहरेदार’, शुक्रबारयता सम्झिनेहरूले यसैगरी सम्झिइरहेका छन् पाण्डेलाई । नसम्झिऊन् पनि किन, जीवनको उत्तरार्द्धमा त उहाँ पहरेदार मात्र होइन, नागरिकतन्त्रको छहारी नै बन्नुभयो ।

२०६२/६३ को जनआन्दोलन ताका कांग्रेस, एमाले र माओवादीका प्रतिनिधिहरूका अनौपचारिक वार्तास्थल विशालनगरस्थित उहाँकै निवास थियो । अलि अगाडिसम्म पनि लोकतन्त्रप्रति प्रतिबद्ध समूहहरूले परामर्श लिनुपरे पाण्डेलाई भेट्न घरमै पुग्थे ।

र, यो सम्मान पाण्डेले त्यसै कमाउनुभएको थिएन । ८७ वर्षे चोलामा ४५ वर्ष उहाँले नागरिक चेतनाको आगो बाल्न खर्चिनुभयो । नेपालमा नागरिक समाजको जन्म, उदय र संस्थागत गर्नमा अद्वितीय योगदान दिनुभयो । तत्कालीन राजा ज्ञानेन्द्रको कू पश्चात् विघटित संसद्‌को बैठक २०६२ साउन ४ गते बस्ने तय भएको थियो । तर, नेताहरूले त्यहाँ लागेको ताल्चा खोलेर भित्र पस्ने आँटै गरेनन् । 

यसपछि पाण्डेकै अगुवाइमा ‘लोकतन्त्र र शान्तिका लागि नागरिक आन्दोलन’ भनेर आन्दोलनको नयाँ जग बसालिएको थियो । पाण्डेलाई योगदान मात्र होइन, उहाँका आदर्शहरूका कारण पनि सम्झिने धेरै छन् । नागरिक हक र नागरिकमैत्री व्यवस्थाका लागि २०३६ सालदेखि नै उहाँ सक्रिय रुपमा लाग्नुभयो । 

सोही वर्ष तत्कालीन प्रधानमन्त्री सूर्यबहादुर थापाले पञ्चायत जिताउन राज्यसत्ताको दूरुपयोगलाई तिव्रता दिएपछि उहाँले अर्थसचिवबाट राजीनामा दिनुभयो, जसले बहुदल पक्षलाई ठूलो उर्जा दिएको थियो । २०४६ को जनआन्दोलनपछि कृष्णप्रसाद भट्टराई नेतृत्वको सरकारमा अर्थमन्त्री भएका बेला पञ्चायतकाल र बहुदलकालबीचको संक्रमण व्यवस्थापन गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्नुभयो । 

त्यतिबेला उहाँले नै सम्पत्तिमा कर लगाउनुपर्ने अवधारणा पनि अघि सार्नुभएको थियो । जनआन्दोलनपछि धेरैले सत्ता र शक्ति ताकिरहँदा उहाँले राजकीय पदभन्दा अलग रहे सत्तालाई खबरदारी गरिरहनुभयो। तर, अध्यायहरू अनवरत जान सक्दैनन् । यसको हेक्का पाण्डेलाई नहुने कुरै भएन ।

पछिल्लो समय पाण्डेका लागि सहज र सुलभ नागरिक मञ्च एक्स बनेको थियो । त्यही एक्समा जेठ २१ गते उहाँले एउटा कविता उद्धृत गर्दै लेख्नुभएको थियो- अन्त्य नजिक छ…मैले जीवन पूरै बाँचेको छु…एक एक बाटो हिँडेको छु र सबैभन्दा ठूलो कुरा मैले सबथोक आफ्नै तरिकाले गरेको छु ।

अलबिदा देवेन्द्रराज पाण्डे । अलबिदा अविकल्प व्यवस्थाका अविराम अभियन्ता ।


Image

नारायण किलम्बू

किलम्बू कान्तिपुर टीभीका संवाददाता हुन् ।