रुकुम पश्चिम । मनसुन सक्रिय हुँदै जाँदा देशका विभिन्न ठाउँमा राजमार्ग र सडकहरु पहिरो र बाढीको जोखिममा छन् ।
त्यसको प्रत्यक्ष मारमा सर्वसाधारण नागरिक पर्ने गरेका छन् । अझ कर्णाली प्रदेशको त के कुरा गर्नु ? यहाँका अधिकांश सडक पटक पटकका दुर्घटनाका कारण बदनाम छन् । कर्णाली प्रदेशमा पछिल्लो तीन वर्षमा दुर्घटनामा तीन सय ८३ जनाको ज्यान गएको छ भने साढे आठ हजार घाइते भएका छन् । तर, सडक दुर्घटनाको प्रमुख कारण विकट भूभाग र असहज सडक मात्रै हुन् त ?
पक्कै पनि होइन, पुराना गाडी र सडक अनुशासन पालना नगर्ने अपरिपक्क चालकका कारण पनि सडक दुर्घटना हुने गरेका छन् । भौगोलिक दृष्टिले विकट मानिन्छ कर्णाली प्रदेश । यहाँको उच्च पहाडी र हिमाली भूगोलमा सुरक्षित सडक नहुनु र सवारीहरुको समेत प्राविधिक जाँचपासमा गरिने लापरबाहीका कारण यहाँको आवागमन असहज त छ नै संगसंगै जोखिम पनि उत्तिकै ।
यो जोखिम बर्खा याममा झन् धेरै बढ्ने गरेको छ । कतै सडक छन् तर सञ्चालन गर्न लायकका छैनन् भने कतै सडकलाई जोड्ने पुन नहुँदा ठाउँठाउँमा गाडी फेर्नुपर्ने बाध्यता छ । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतको तथ्यांक अनुसार कर्णाली प्रदेशमा मात्रै बितेका तीनवटा आर्थिक वर्षमा जम्मा ३ हजार २ सय ३० वटा सवारी दुर्घटना भएका छन् ।
यी दुर्घटनामा परेर जम्मा ३ सय ८३ जनाले ज्यान गुमाएका छन् भने ८ हजार ४ सय ६२ जना सामान्य र गम्भीर घाइते भएका छन् । सडक सुरक्षित भएमा सवारी आवागमन पनि सुरक्षित हुन्छ । तर, उल्लेखित तथ्यांक हेर्दा स्पष्ट हुन्छ कि सवारी दुर्घटनाको मुल कारण सडक मात्रै पक्कै होइन ।
मानवीय त्रुटि र सवारीको अवस्था पनि ठिकठाक हुन जरुरी छ । तर, के यसतर्फ यातायात व्यवसायी र सवारी धनीले ध्यान दिएका छन् त ? कुनै पनि राजमार्ग र मुख्य मार्गमा हुने आवागमनलाई सहज र सुरक्षित बनाउनका लागि सम्बन्धित सडक डिभिजन र आयोजना कार्यालयले तदारुकताका साथका साथ काम गर्ने बताइरहेका छन् ।
स्थानीय प्रशासनले पनि ट्राफिक नियमानुसार सञ्चालन गर्ने-गराउने कुरामा पहलकदमी लिने प्रतिबद्धता जनाइरहेका छन् । विश्वका अरु मुलुकमा मान्छे बुलेट ट्रेनमा गुडेर केही मिनेटमै एक ठाउँबाट अर्को ठाउँ गैरहेका अनि उडेर अर्को ग्रहका पुगिरहेका समाचारमाझ हामी नेपाली त्यसमा पनि विशेषगरी कर्णालीबासी सामान्य यातायातका साधनमा पनि यात्रा गर्न यसप्रकारको सास्ती बोहोर्नु परिरहेको छ ।
सडक र सवारीमा हुने यो लपारबाहीका कारण भैरहेका दुर्घटनाको समाचार हामी कहिलेसम्म बन्ने, कहिलेसम्म बनाउने ? यो प्रश्न सम्बन्धित सबैलाई ।