
उदयपुर । उदयपुरको उदयपुरगढी गाउँपालिकामा सञ्चालनमा रहेको कस्मोस सिमेन्ट उद्योगको चुनढुंगा खानी र ढुवानी गतिविधिका कारण स्थानीय बासिन्दा आजित बनेका छन् ।
उद्योगले आर्थिक योगदान र रोजगारी सिर्जना गरेको दाबी गरिरहँदा प्रभावित क्षेत्रका बासिन्दा भने धूलो, ध्वनि प्रदूषण र दुर्घटनाको त्रासबीच बाँच्न बाध्य भएको गुनासो गर्छन् । उदयपुरगढी गाउँपालिका-४, ५ र ८ नम्बर वडाका बासिन्दाको दैनिकी अहिले हिलो र त्राससँग जोडिएको छ ।
कस्मोस सिमेन्ट उद्योगले आठ वर्षदेखि सञ्चालन गर्दैआएको चुनढुंगा खानीमा दैनिक सयौँ टिपर ओहोरदोहोर गर्छन् । स्थानीयका अनुसार यही ढुवानी र उत्खनन्ले उनीहरूको जीवन कष्टकर बनाएको हो । सडकमा उड्ने धुलो र हिलोले बालबालिकालाई विद्यालय जान समस्या छ ।
घरभित्र भान्सादेखि सुत्ने कोठासम्म धुलो र कम्पन हुने गरेको स्थानीय बताउँछन् । रातदिन मनपरी टिपर चलाउँदा उनीहरू ढुक्कले निदाउनसमेत पाउँदैनन् । स्थानीयका अनुसार स्वास्थ्यचौकी, वडा कार्यालय वा बजारसम्म पुग्न पनि जोखिम छ । समस्या बढ्दै गएपछि प्रभावित क्षेत्रका टोल विकास संस्थाहरू संगठित भएका छन् ।
उनीहरूले वडा कार्यालय र गाउँपालिकामा ज्ञापनपत्र बुझाउँदै प्रदूषण नियन्त्रण र सुरक्षित ढुवानीको माग गरेका छन् । उद्योग सञ्चालनका बेला रोजगारी, शिक्षा, स्वास्थ्य, सडक स्तरोन्नति र सामाजिक विकासका धेरै प्रतिबद्धता गरिए पनि व्यवहारमा कार्यान्वयन हुन नसकेको स्थानीयको आरोप छ ।
उद्योगले प्रयोग गरिरहेको कमानदेखि खानी क्षेत्रसम्मको करिब ९ किलोमिटर सडक पनि विवादित बनेको छ । स्थानीयका अनुसार सार्वजनिक प्रयोगमा रहेको सडकमा उद्योगकै नियन्त्रण बढेको छ भने छुट्टै ढुवानी मार्ग बनाइएको छैन । अत्यधिक भार बोकेर गुड्ने टिपरका कारण स्थानीय सडकसँगै मदन भण्डारी र सगरमाथा राजमार्गको केही खण्डसमेत जीर्ण बन्दै गएको छ ।
उद्योग पक्षले भने आफूले कानुनी प्रक्रिया पूरा गरेर सञ्चालन गरिरहेको र रोजगार सिर्जना, राज्यलाई राजस्व, सामाजिक उत्तरदायित्व पूरा गरेको दाबी गर्छ । तर, प्रभावित बस्तीका बासिन्दा भने उद्योगले गरेको भनिएको सहयोगको अनुभूति आफूहरूले गर्न नपाएको बताउँछन् ।
स्थानीयको माग उद्योग बन्द गरियोस् भन्ने होइन । उनीहरू उद्योग सञ्चालनसँगै प्रदूषण नियन्त्रण, सुरक्षित ढुवानी, वातावरण संरक्षण र प्रभावित समुदायको अधिकार सुनिश्चित हुनुपर्ने बताउँछन् ।