एल निनोको असर : खेत सुक्ने, महँगी बढ्ने चिन्ता

जेष्ठ ३, २०८३ |विकास आचार्य
एल निनोको असर : खेत सुक्ने, महँगी बढ्ने चिन्ता

काठमाडौं । यसपालि रोपाइँका बेला पानी नपर्ने अनि बर्खायाम निख्रिने बेला आरिघोप्टे पानी पर्न सक्ने पूर्वानुमान भइरहेको छ । 

यसलाई मौसमविद्हरूले प्रशान्त महासागरमा विकसित हुने एल निनो मौसमी प्रणालीको प्रभाव भनिरहेका छन् । यसको सीधा असर बाली चक्र र खाद्य सुरक्षासँग त जोडिन्छ नै राष्ट्रिय अर्थतन्त्रलाई पनि प्रभाव पार्ने देखिन्छ । अर्कोतर्फ एल निनो प्रणालीकै कारण मनसुनजन्य विपद्‌को जोखिम पनि बढ्ने विज्ञहरूको भनाइ छ ।

पोहर साल खडेरी लम्बिँदा धान उत्पादन करिब ४ प्रतिशतले घटेको थियो । तराईमा त ५ प्रतिशतले उत्पादनमा ह्रास आएको कृषि, वन तथा पर्यावरण मन्त्रालयका सचिव राजेन्द्रप्रासद मिश्रले जानकारी दिनुभएको छ । यसपालि पनि मनसुनमा प्रायः ढिलो र कम पानी पर्ने अनुमान छ - मौसम वैज्ञानिकहरूको। त्यसमाथि एल निनो मौसमी प्रणालीले रोपाइँमा असर पर्ने सम्भावना बढेको विज्ञको भनाइ छ ।

धान नेपालको प्रमुख बाली हो । जसको उत्पादनको सम्बन्ध देशको अर्थतन्त्रसँग सीधा जोडिन्छ । कृषि मन्त्रालयका अनुसार कुल गार्हस्थ्य उत्पादनमा धानको मात्र करिब ७ प्रतिशत हिस्सा छ । अर्थात् प्रशान्त महासागरमा विकसित मौसमी प्रणालीले नेपालीहरूको जनजीवनमा प्रत्यक्ष प्रभाव पार्ने सम्भावना छ ।

अर्कोतर्फ मनसुनी चक्र खलबलिँदा खेती प्रभावित भई खा‌द्यान्न अभाव हुने र त्यसले मूल्यवृद्धि निम्त्याउनेलगायतका शृंखलाबद्ध असरहरू पनि देखापर्न थाल्छन् । यसै पनि अहिले इन्धन संकटका कारण अस्वाभाविक रूपमा बढेको महँगी धान्न नसकेर निम्न र मध्यम वर्ग हायलकायल छ ।

सामान्य अवस्थामा भारतसँग हामीले वार्षिक २५ अर्बको धान चामल खरिद गर्ने गरेका छौँ । तर, एल निनो प्रणालीले नेपाल मात्र नभएर दक्षिण एसियाली क्षेत्रलाई नै प्रभाव पार्नसक्ने भएकाले यो रकम अझ थपिनसक्छ । एल निनो प्रभावले वर्षा ढिलो हुँदा तापक्रम वृद्धि हुने अनि अन्ततः प्रकोप सिर्जना हुने जोखिम पनि रहन्छ । 

यो वर्ष देशभरको तापक्रम सरदरभन्दा बढी हुने सम्भावना रहेको विपद् जोखिम न्यूनीकरण प्राधिकरणले भनिसकेको छ । यस्तोमा हिमताल विस्फोट भई तल्लो तटीय क्षेत्रमा बाढी, पहिरोजस्ता प्रकोपको सम्भावना अधिक रहेको प्राधिकरणले उल्लेख गरेको छ ।

मौसमविद्हरुले एल निनो प्रणालीले गर्न सक्ने असरबारे घचघच्याए पनि सरकारले आफूलाई प्राकृतिक विपद् पूर्वतयारीमा केन्द्रित गरेको छ। यो राम्रो हो। तर, बाली चक्रमा पर्ने असरबारे ध्यान नदिने हो भने खाद्य प्रणाली र अर्थतन्त्रमै समेत विपद् निम्तिन सक्नेछ।

सम्बन्धित समाचार :

के हो एल निनो ? वर्षाका लागि किन महत्वपूर्ण ?


Image

विकास आचार्य

आचार्य कान्तिपुर टेलिभिजनका काठमाडौंस्थित संवाददाता हुन् ।