के हो एल निनो ? वर्षाका लागि किन महत्वपूर्ण ?

एल निनोको संकेत : कम वर्षा, अत्यधिक गर्मी र मौसमीय जोखिमको चेतावनी
जेष्ठ ३, २०८३ |कृपाल गौतम
के हो एल निनो ? वर्षाका लागि किन महत्वपूर्ण ?

काठमाडौं । यस वर्षको मनसुनमा सरदरभन्दा कम वर्षा हुने प्रक्षेपण मौसमविद्हरुले गरिसकेका छन् । 

त्यसमाथि प्रशान्त महासागरमा उत्पन्न हुने एल निनोको प्रभावले आगामी ६ महिना तापक्रम बढ्नेदेखि कुनै ठाउँमा सुक्खा हुने त कतै भीषण वर्षा हुने आकलन गरिएको छ । सबैभन्दा धेरै असर यो मनसुनमा एसियामै पर्नेछ । 

के हो एल निनो र यो विश्वभरको तापक्रम र वर्षाका लागि किन महत्वपूर्ण छ ?

मौसमविद्हरुले यस वर्षको मनसुनमा सरदरभन्दा कम पानी पर्ने र एल निनोको प्रभावले आगामी ६ महिनासम्मै तापक्रम बढ्नेसम्मको प्रक्षेपण गरेपछि सबैतिर चासोको विषय बनेको छ-के हो एल निनो ?

विश्वभर तापक्रम र वर्षाको सन्तुलनलाई प्रभाव पार्ने मौसमी प्रणालीका मुख्य दुई कारण छन्-एल निनो र ला निना । एल निनो र ला निनाले प्रशान्त महासागरको पानी कति तातो वा चिसो छ भन्ने देखाउँछन् । सजिलो भाषामा भन्नुपर्दा, यो समुद्रको पानी असामान्य रूपमा तात्ने वा चिसिने प्रक्रिया हो । 

समुद्रको पानी सामान्यभन्दा धेरै तात्यो भने त्यसलाई एल निनो भनिन्छ । त्यसको उल्टो अर्थात्, प्रशान्त महासागरको पानी असामान्य रूपमा चिसो हुने प्रक्रियालाई ला निनो भनिन्छ। सामान्य अवस्थामा प्रशान्त महासागरको पानी पूर्वी क्षेत्रमा चिसो र पश्चिममा तातो हुन्छ । 

पूर्वबाट पश्चिमतर्फ हावा बहने क्रममा सूर्यको तापले पानीलाई तातो बनाइरहेको हुन्छ । तर, एल निनोका बेला यस्तो हावा कमजोर हुन्छन् र उल्टो दिशातर्फ अर्थात् पश्चिमबाट पूर्वतर्फ फैलन थाल्छ । मौसमका हिसाबले यी दुबै महत्वपूर्ण प्रणाली हुन्, किनभने प्रशान्त महासागरको तापक्रममा हुने परिवर्तनले हजारौं किलोमिटर टाढाको मौसमसमेत बदल्न सक्छ ।

समुद्री सतह असामान्य रूपमा तात्दा विकसित हुने एल निनो सामान्यतया ९ महिनादेखि १ वर्षसम्म सक्रिय रहन सक्छ। धेरैजसो अवस्थामा यो वर्षको मध्यदेखि विकसित भई अन्त्यतिर बलियो बन्छ र त्यसपछि अर्को वर्षको सुरुवात वा मध्यसम्म क्रमशः कमजोर हुँदै जान्छ। 

मौसमविद्हरूका अनुसार अहिले प्रशान्त महासागरमा समुद्री तापक्रम क्रमिक रूपमा बढिरहेको छ र सन् २०२६ को मध्यदेखि एल निनो सक्रिय हुन सक्ने संकेत देखिएको छ। केही अन्तर्राष्ट्रिय मौसम पूर्वानुमानहरूले एल निनोको असर २०२६ को अन्त्यसम्म, र सम्भवतः २०२७ को सुरुवातसम्म पनि रहन सक्ने देखाएका छन् । 

विश्व मौसम संगठनलगायतका अन्तर्राष्ट्रिय संस्थाहरूले सन् २०२६ को मेदेखि जुलाईका बीच एल निनो विकसित हुने सम्भावना रहेको बताएका छन्। अहिलेका समुद्री तापक्रम र वायुमण्डलीय संकेतहरूले आगामी महिनाहरुमा मौसम अनिश्चित हुनेछ। 

यसको अर्थ हो, कहिले अत्यधिक गर्मी हुन सक्छ भने कहिले अचानक मुसलधारे पानी पर्न सक्छ। मौसम नै असन्तुलित भइदिन्छ। दक्षिण एसियाका अधिकांश देशहरूको अर्थतन्त्र, कृषि, खानेपानी, जलविद्युत् तथा जनजीवन मनसुनमा निर्भर हुने भएकाले एल निनोको प्रभाव यहाँ प्रत्यक्ष महसुस हुने गर्छ। 

विशेषगरी नेपाल, भारत, बंगलादेश, पाकिस्तान र श्रीलंकामा एल निनोका कारण सामान्यभन्दा कम वर्षा, लामो खडेरी, अत्यधिक गर्मी तथा कृषि उत्पादनमा गिरावट आउने देखिन्छ। तर, एल निनोको प्रभाव सधैं एउटै ढाँचामा हुँदैन, कतिपय क्षेत्रमा कम वर्षा हुँदा अर्को क्षेत्रमा अत्यधिक वर्षा हुने र बाढी तथा पहिरोको जोखिम पनि बढ्न सक्छ। 

त्यसैले एल निनोलाई केवल खडेरी ल्याउने अवस्था मात्रै मानिँदैन । यसले मौसमलाई अनियमित र असन्तुलित पनि बनाउन सक्छ । कुनै बेला कम पानी नै नपरिरहेका बेला अचानक धेरै पानी पर्न सक्छ । लामो सुख्खापछि एक्कासी ठूलो वर्षा हुँदा बाढी र पहिरोको जोखिम झन् बढ्छ । हिमाली क्षेत्रमा हिमताल फुट्ने जोखिमसमेत बढाउन सक्छ ।

एल निनोसँग जोडिएको अर्को ठूलो चिन्ताको विषय हो- डढेलोको जोखिम । कम वर्षा र सुख्खा मौसमले जंगललाई अत्यधिक सुक्खा बनाउने भएकाले नेपालका पहाडी तथा हिमाली क्षेत्रमा यसले डढेलोको सम्भावना बढाउन सक्ने मौसमविद्हरुको भनाइ छ । 

वैज्ञानिकहरूको प्रारम्भिक अनुमानले यसपटक एल निनो सक्रिय हुन सक्ने देखाएको छ । तर, यो कति बलियो हुन्छ भन्ने अझै निश्चित भइसकेको छैन। केही विज्ञहरूले अत्यन्त शक्तिशाली ‘सुपर एल निनो’ को सम्भावना पनि औंल्याएका छन् । अर्थात्, सामान्यभन्दा धेरै प्रभाव पार्ने एल निनो विकसित हुन सक्ने अनुमान पनि छ । 

विश्व मौसम संगठनले भने नै त्यसलाई पुष्टि गरिसकेको छैन। आगामी केही महिनामा प्रशान्त महासागरको तापक्रम र वायुमण्डलीय गतिविधि कता जान्छ भन्ने आधारमा अवस्था अझ स्पष्ट हुने अपेक्षा गरिएको छ। नेपालजस्ता देशका लागि यो प्रणाली गम्भीर चासो र चिन्ताको विषय हो, कारण - एल निनोको असर समुद्रमा मात्रै होइन, खेतबारीदेखि खानेपानीसम्म पर्छ । 


Image

कृपाल गौतम

गौतम कान्तिपुर टेलिभिजनका संवाददाता हुन् ।