कक्षा १ बाट १० पुग्दा ५६ प्रतिशत विद्यार्थी गायब : शिक्षा प्रणालीमै गम्भीर प्रश्न

वैशाख ३०, २०८३ |नारायण किलम्बू
कक्षा १ बाट १० पुग्दा ५६ प्रतिशत विद्यार्थी गायब : शिक्षा प्रणालीमै गम्भीर प्रश्न

काठमाडौं । कक्षा १ मा भर्ना भएका विद्यार्थी १० कक्षासम्म पुग्दा ४४ प्रतिशत मात्र अध्ययनलाई निरन्तरता दिने गरेको पाइएको छ ।

शिक्षा मन्त्रालयको फ्लास रिपोर्टअनुसार २०७३ सालमा कक्षा १ मा भर्ना भएका ९ लाख ७३ हजार ६ सय ९५ विद्यार्थीमध्ये ५६ प्रतिशत बिचमै गायब हुने गरेको पाइएको छ । सरकारले विद्यालय शिक्षामा बर्षेनि एक खर्ब ५० अर्ब रूपैयाँ लगानी गरे पनि १० वर्षको दौरानमा यतिधेरै विद्यार्थी कहाँ गए भन्ने खोजविनको विषय बनेको छ ।

शिक्षा मन्त्रालयका अनुसार २०७३ सालमा देशभरका विद्यालयमा कक्षा १ मा ९ लाख ७३ हजार ६ सय ९५ विद्यार्थी भर्ना भएका थिए । २०८२ सालमा आइपुग्दा कक्षा १० मा पुग्ने विद्यार्थीको संख्या ४ लाख ६४ हजार मात्र छ । त्यसमा पनि यसपटक एसईई दिने विद्यार्थीको संख्या भने ४ लाख ३० हजार ६ सय ६७ मात्र थियो । 

यो हिसाबले ४४ प्रतिशत विद्यार्थीले अध्ययनलाई निरन्तरता दिँदै एसईईमा सामेल भएका थिए भन्ने बाँकी ५ लाख ४२ हजार ९ सय ३४ जना अर्थात् ५६ प्रतिशत विद्यार्थी बिचमै अध्ययन् छोडेर कहाँ हराए त ? सरकारले कक्षा १ देखि ८ सम्म आधारभूत शिक्षा नि:शुल्क तथा अनिवार्य र कक्षा ९ देखि १२ माध्यामिक शिक्षा नि:शुल्क गर्ने व्यवस्था छ । 

सरकारले विद्यार्थी टिकाउन निःशुल्क पाठ्यपुस्तक, छात्रवृत्ति, दिवाखाजालगायत कार्यक्रममा ठूलो रकम पनि खर्च गरिरहेको छ । नि:शुल्क शिक्षादेखि विद्यार्थीलाई विभिन्न सुविधा उपलब्ध गराए पनि बिचैमा कक्षा छाड्ने दर भने बढ्दो छ । गरिब, विपन्न र आर्थिक अवस्था कमजोर भएकै कारण धेरैजसो बालबालिका बीचमै कक्षा छोड्ने गरेको पाइन्छ । 

त्यसैगरी अभिभावकको आर्थिक अवस्था कमजोर भएकाले पनि बालबालिकाले अध्ययन पूरा गर्न पाउँदैनन् । कतिपय विद्यालयले आर्थिक प्रलोभनमा धेरै विध्यार्थीको संख्या देखाउँदा १० वर्षको दौरानमा उनीहरूमध्ये कतिपय तथ्यांकबाट गायब भएको हुनसक्ने शिक्षक र शिक्षाका अधिकारीहरू बताउँछन् ।

त्यसो त सरकारले विद्यालय शिक्षाका लागि बर्षेनि १ खर्ब ५० अर्बको हाराहारीमा बजेट विनियोजना गर्दै आएको छ । हालै प्रकाशित एसईईको नतिजा अनुसार सामुदायिक विद्यालयका २ लाख ८९ हजार विद्यार्थीमध्ये १ लाख ६१ हजार अर्थात् ५५ प्रतिशत उर्तीण भएका छन् । 

कक्षा १ मा भर्ना भएकामध्ये १० वर्षको दौरानमा साढे ५ लाख विद्यार्थी हराउनुले सरकारको लगानी दुरूपयोग भइरहेकाले यसबारे गम्भीर अध्ययन हुनुपर्ने स्वयं शिक्षाका अधिकारीहरु बताउँछन् । यो तथ्यांकले बर्षेनि देशभरका विद्यालयहरूबाट ५४ हजार विद्यार्थी हराइरहेका छन् । यति ठूलो संख्यामा बालबालिकाले विद्यालय छाड्नु गम्भीर विषय हो ।


Image

नारायण किलम्बू

किलम्बू कान्तिपुर टीभीका संवाददाता हुन् ।