प्रधानमन्त्री अनुपस्थित हुँदा संसद् अवरुद्ध, नीति तथा कार्यक्रम प्रभावित

वैशाख ३०, २०८३ |अञ्जना लामिछाने
प्रधानमन्त्री अनुपस्थित हुँदा संसद् अवरुद्ध, नीति तथा कार्यक्रम प्रभावित

काठमाडौं । संविधानतः प्रधानमन्त्री र मन्त्रीहरू सामूहिक रूपमा संसद्प्रति उत्तरदायी हुन्छन् । 

तर, यही संवैधानिक व्यवस्थाप्रति प्रधानमन्त्री वालेन्द्र शाह जिम्मेवार बन्न नचाहेपछि प्रतिनिधिसभा बैठक नै प्रभावित भएको छ । नीति तथा कार्यक्रममा सांसदहरूले उठाएका प्रश्नको उत्तर दिने दिनसमेत प्रधानमन्त्री शाह संसद्‌ बैठकमा उपस्थित नहुँदा विपक्षीहरूले नाराबाजी गरे । 

परिणामतः आज पारित हुने भनिएको नीति तथा कार्यक्रमसमेत प्रभावित बन्यो । नीति तथा कार्यक्रममाथिको बाँकी छलफल सकेर बुधबार निर्णयार्थ प्रस्तुत गर्ने संसद्को कार्यसूची थियो । तर, शून्य समयमा मात्रै संसद् कार्यसूचीअनुसार चल्यो । 

जब सभामुख डीपी अर्यालले अर्थमन्त्री स्वर्णिम वाग्लेलाई नीति तथा कार्यक्रममाथि छलफल सुरू गरियोस् भन्ने प्रस्ताव पेस गर्न समय दिनुभयो, विपक्षी दलका सांसदहरू उठेर नाराबाजी थालिहाले । प्रधानमन्त्री वालेन्द्र शाह नीति तथा कार्यक्रममा जवाफ दिने दिन अनुपस्थित भएको विषयलाई विपक्षी दलहरूले अजेन्डा मात्र बनाएनन्, बैठक नै अवरोधसमेत गरे । 

उनीहरूले प्रधानमन्त्रीको राजीनामासमेत माग गरे । हुन त प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले त्यसअघि नै आकस्मिक समय लिएर रूलिङ गरेरै भए पनि प्रधानमन्त्रीलाई संसद्‌मा उपस्थित गराउनुपर्ने माग गरेको थियो । कांग्रेस सांसद अर्जुननरसिंह केसीले त प्रधानमन्त्री उपस्थित नभए संसद् बहिष्कार गर्ने चेतावनीसमेत दिनुभयो ।

यता राप्रपाका ज्ञानबहादुर शाहीले प्रधानमन्त्री संसदप्रति उत्तरदायी नभएको आरोप लगाउनुभयो । उहाँले पनि सभामुखसँग प्रधानमन्त्री बोलाउन रूलिङको माग गर्नुभयो । प्रधानमन्त्री आउनैपर्ने विपक्षीहरूको अडानका कारण सुरुमा १५ मिनेटका लागि स्थगित भएको संसद्को बैठक एक घण्टापछि बस्यो । 

तर, निरन्तरको अवरोधपछि दोस्रोपटक बैठक बस्न सकेन । अर्थमन्त्री स्वार्णिम वाग्लेलाई नीति तथा कार्यक्रममाथि छलफल प्रस्ताव पेस गर्न दिएर अवरोध कायमै रह्यो । संविधानतः प्रधानमन्त्री र मन्त्रीहरू सामूहिक रूपमा संसद्प्रति उत्तरदायी हुन्छन् । 

तर, सांसदहरूले उठाएका प्रश्नको उत्तर दिने दिनसमेत प्रधानमन्त्री संसद्‌ बैठकमा उपस्थित नहुँदा आज पारित हुने भनिएको नीति तथा कार्यक्रमसमेत प्रभावित बन्यो । यता सत्तापक्षले भने प्रधानमन्त्रीको जवाफ नचाहिने र प्रधानमन्त्रीले तोकेको मन्त्रीले जवाफ दिन मिल्ने भनिरह्यो ।

फेरि १५ मिनेट स्थगित भएको बैठक करिब डेढ घण्टापछि बस्न त खोज्यो, तर विपक्षीहरू टसमस भएनन् । अन्ततः सभामुख अर्यालले कार्यसूचीमा भएका सबै कार्यक्रम हटाएर बैठक बिहीबारसम्मका लागि स्थगित गर्नुभयो । तर, प्रधानमन्त्रीको उपस्थितिको एकसूत्रीय माग राखिरहेका विपक्षीहरूले बिहीबार पनि संसद् अवरोध कायमै राख्ने देखिएको छ ।


Image

अञ्जना लामिछाने

लामिछाने कान्तिपुर टेलिभिजनकी संवाददाता हुन् ।