धनकुटा । तराईबाट भोजपुर र संखुवासभालाई सबैभन्दा छोटो दूरीमा जोड्ने लक्ष्यसहित अरुण कोरिडोर सडक आयोजना निर्माणाधीन छ ।
६५ किलोमिटर लामो यो द्रुत मार्गले सुनसरीको चतरास्थित कोशी पुलदेखि धनकुटा महालक्ष्मी र पाख्रिबास नगरपालिकाको सीमा माङ्माया डाँडा जोड्छ ।
चतरा-माङ्मायाको ६५ किलोमिटरलाई तीन खण्डमा बाँडेर करिब १ अर्ब रुपैयाँ लागतमा ४५ किलोमिटरका लागि ठेक्का लागेर काम अघि बढेको छ । यसमध्ये पनि ३५ किलोमिटरमा प्रारम्भिक ट्र्याक खोलिएको छ । ट्र्याकको चौडाइ १० मिटर हुनेछ ।
अरुण कोरिडोरको २२ किलोमिटरमध्ये १० किलोमिटर खण्ड तमोर कोरिडोर भएरै अघि बढ्नेछ । बाँकी सडकको काम बिचमा पर्ने पुलहरुको स्थान र डिजाइनको टुंगो लागेपछि अघि बढ्ने अरुण कोरिडोर सडक आयोजनाले जनाएको छ ।
यो आयोजनाको ६५ किलोमिटर खण्डमा तमोर नदीसहित ११ ठाउँमा मोटरेबल पक्की पुल निर्माण गर्नुपर्नेछ । तमोर नदी, अधेँरी, छाम्लाङ, धुसेनी, मंग्सुवा, सुनाखानी खहरे, लेदे, मुगा र निवुखोलामा २० देखि ४० मिटर लम्बाइका पक्की पुल निर्माणको योजना छ ।
तीमध्ये केही पुलको विस्तृत परियोजना प्रतिवेदन डीपीआर तयार भइरहेको छ । निर्माणाधीन सडक आयोजनाले हाल भोजपुर र संखुवासभा तथा धनकुटाको महालक्ष्मी र पाख्रिबासका स्थानीयले प्रयोग गर्दै आएको कोशी राजमार्गको १ सय २५ किलोमिटर दूरी छोट्याएर यातायात र ढुवानी सहज बन्ने आशा छ ।
आयोजनाको बीचका केही ठाउँमा स्थानीयका घर–टहराका कारण ट्रयाक खोल्ने काममा ढिलाइ भइरहेको छ । यद्यपि आयोजनाको काम द्रुत गतिमा अघि बढाउन र निर्माणका क्रममा आउनसक्ने अवरोध व्यवस्थापनमा समन्वय गरिरहेको धनकुटा प्रशासनले जनाएको छ ।