सिन्धुपाल्चोकमा तामाङ समुदायको पहिचान डम्फु-सेलो मासिँदै

नयाँ पुस्तामा घट्दो रुचि मुख्य कारक
वैशाख २३, २०८३ |कमला पाख्रिन
सिन्धुपाल्चोकमा तामाङ समुदायको पहिचान डम्फु-सेलो मासिँदै

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकमा तामाङ समुदायको पहिचानसँग जोडिएका डम्फु-सेलो संरक्षणको अभावमा लोप हुने अवस्थामा पुगेका छन् । 

यी मौलिक बाजा र भाकाहरू तामाङ समुदायको जन्मदेखि मृत्युसम्मका विभिन्न संस्कारमा बज्ने र गाइने गरिन्छ । तर, नयाँ पुस्तामा घट्दो रुचि र आधुनिक गीत-संगीतप्रतिको बढ्दो आकर्षणका कारण परम्परागत सेलो, खान्दोके र फापरेजस्ता भाकाहरू हराउँदै जान थालेका छन् ।

डम्फु र सेलो तामाङ समुदायको संस्कृति र जीवनशैलीको एक अभिन्न अंग हो। तामाङहरू जात्रा, ल्होसार, विवाह, व्रतबन्धलगायतका विभिन्न अवसरमा डम्फुको तालमा सेलोभाका गुन्जिन्छ। डम्फुको तालसँगै तामाङ जातिले सेलोमा आफ्नो सुख-दुःख व्यक्त गर्ने परम्परा रहँदै आएको छ। तर, पुर्खौादेखि गुञ्जिँदै आएको डम्फुको ताल र सेलोको भाका पछिल्लो समय सुनिन छाड्दै गएका छन्।

कोइराला काठको घेरामा घोरलको छाला तन्काएर ३२ वटा किला ठोकी बनाएको डम्फु को धुन "प्लाक धुई धुई...धिङ, धिङ ताक..." को मधुर धुनसँगै गाउने फापारे र खान्दोके सेलो गाउदै नाच्ने दृश्य पहिला विभिन्न पर्वमा देखिन्थ्यो। तर, आजभोलि यस्ता दृश्य विरलै देख्नपाइन्छ। 

पुर्खा पुस्ताले जोगाउँदै आएको यो परम्परा नयाँ पुस्तामा हस्तान्तरण हुन नसक्दा गाउँघरमा पहिलेजस्तो डम्फुको तालमा गीत गाउने र नाच्ने परम्परा घट्दै गएको छ। २०७८ सालको जनगणनाअनुसार कुल जनसंख्याको ५ दशमलव ८ प्रतिशत तामाङ समुदाय छ। 

यो समुदायले सेलो र डम्फुलाई बुद्ध र बोधिसत्वको प्रतीक मान्ने गर्छ। डम्फुका ३२ वटा किलाले बुद्धका ३२ लक्षणलाई प्रतिनिधित्व गर्ने विश्वाससमेत रहिआएको छ। तर, पछिल्लो समय नयाँ पुस्तामा यसको धार्मिक तथा सांस्कृतिक महत्वप्रति चासो घट्दै गएको छ। 

परम्परागत ज्ञान र अभ्यासबारे बुझ्ने र खोज्ने प्रवृत्ति कमजोर हुँदै जाँदा यो मौलिक सांस्कृतिक पहिचान ओझेलमा परेको हो। डम्फु र सेलो तामाङ समुदायको "आत्मा" हुन्। तामाङहरूको इतिहास, भावना, संस्कार र जीवनशैलीसँग गहिरोरूपमा जोडिएकोले डम्फुसेलो बिना तामाङ संस्कृतिको पूर्णता कल्पना गर्न सकिँदैन।


Image

कमला पाख्रिन

पाख्रिन कान्तिपुर टीभीका लागि सिन्धुपाल्चोक संवाददाता हुन् ।